वीरगन्ज । नेपालका इथिकल ह्याकर आकाशजंग बस्नेतले फेसबुकको सुरक्षा कमजोरी पत्ता लगाएका छन् । उनले फेसबुक म्यासेन्जरको च्याट रुमको भल्नेरबिलिटी पत्ता लगाएका हुन् ।
यसअन्तर्गत फोनको लक नखोलिकनै फेसबुक म्यासेन्जर कल रिसिभ गर्दा सो फेसबुक आईडीका फ्रेन्डलिस्ट हेर्न सकिन्थ्यो ।
फेसबुकको यो त्रुटिले लक भएको फोनमा अन्य व्यक्तिले भौतिक रुपमा पहुँच पुर्याई च्याट रुमबाट फ्रेन्डलिस्ट हेर्नुका साथै उनीहरूलाई कल पनि गर्नसक्ने खतरा थियो ।
फेसबुकले यो बगका लागि बस्नेतलाई ७५० डलर बाउन्टी दिने घाेषणा गरेकाे छ । साथै फेसबुकले उनलाई ‘डिले बाेनस’ स्वरूप ३८ डलर पनि प्रदान गरेकाे छ ।
बग एक्सेप्ट गरेकाे एक महिना वा साे समयपछि रिवार्ड दिँदा फेसबुकले बग हन्टरका लागि ‘डिले बाेनस’ समेत उपलब्ध गराउन थालेकाे छ ।
उनले गत जुन ९ मा याे बगका लागि रिपोर्ट गरेका थिए । फेसबुकले जुन १६ मा एक्सेप्ट गरी जुलाई २३ मा कूल ७८८ डलर रिवार्ड रकम दिने जानकारी गराएकाे हाे ।
गत असारमा टेकपानाले प्रकाशित गरेको एक समाचारका आधारमा उनले बग पत्ता लगाउन सफल भएका हुन् ।
१८ वर्षीय नेपाली युवाले भेटे फेसबुकको गम्भीर सुरक्षा कमजोरी, पाए साढे ३ लाख बढीको पुरस्कार शीर्षकमा प्रकाशित साे समाचारबाट समिप अर्यालले फेसबुकको म्यासेञ्जर च्याट रुमको भल्नरेबिलिटी (संवेदनशील कमजोरी) फेला पारेकाे जानकारी लिएपछि बस्नेतले म्यासेन्जर च्याट रूपमा ‘रिटेस्ट’ गरेर याे बग पत्ता लगाएका हुन् ।
योसँगै उनी फेसबुक हल अफ फ्रेम २०२१ मा समेत सूचीकृत भएका छन् ।
आकाश हाल कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयको आईटी विभागमा कार्यरत छन् ।
केही वर्षदेखि इथिकल ह्याकिङमा लागेका बस्नेतले हालसम्म गुगल, माइक्रोसफ्ट, एप्पल, बीबीसी, नोकिया लगायतबाट हल अफ फ्रेम पाइसकेका छन् ।
यस्तै उनले लेनोभो, इन्टेल, म्याकफी एन्टीभाइरस, हाभर्ड विश्वविद्यालय, क्यामब्रिज विश्वविद्यालय, ह्वावे, ईसेट एन्टीभाइरस लगायतबाट एकनलेजमेन्ट पाइसकेका छन् ।