वीरगन्ज । नेपाल विद्युत् प्राधिकरणको आइतबार बसेको सञ्चालक समितिको बैठकले एयरपोर्टहरुमा सौर्य ऊर्जा प्लान्ट जडान गर्नेसम्बन्धी भारत सरकारले गरेको विवादास्पद प्रस्ताव पारित गरेन ।प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले बैठकमा अन्य विषयमा छलफल भए पनि यससम्बन्धी अजेन्डामा प्रवेश हुन नपाएको बैठकपछि आइतबार राति इकागजलाई बताए । उक्त प्रस्तावबारे अर्को बैठकमा छलफल हुने जानकारी पनि शाक्यले दिए ।
भारतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल लगायत देशका प्रमुख स्थानहरुमा सौर्य ऊर्जा जडान गर्न नेपाललाई प्रस्ताव गर्दै आएको थियो । ऊर्जा सचिव स्तरीय बैठकले भारतको प्रस्तावलाई अस्वीकार गरेपछि उसको नेसनल थर्मल पावर कर्पोरेसन (एनटीपीसी) र प्राधिकरणबीच यससम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको र त्यसैलाई पारित गर्न प्राधिकरण सञ्चालक समिति बैठक डाकिएको खुलासा आज इकागजले गरेको थियो ।
जनता समाजवादी पार्टी जसपा को महन्थ-महतो खेमा सरकारमा सहभागी भएलगत्तै ऊर्जा मन्त्री शरतसिंह भण्डारीले पहिलोपटक प्राधिकरण बोर्ड बैठकको अध्यक्षता गर्दै भारतीय प्रस्ताव पारित गराउन लागेका थिए ।