वीरगन्ज । सुधीर पर्जापती । लकडाउनका कारण ब्यापार लगायत धेरै पेसाहरु ठप्प भएको र ब्याज वा किस्ता तिर्ने अवस्था नरहेपछी बैंक तथा वित्तीय संस्थाहरुले निषेधाज्ञा अवधिभर ग्राहकहरुबाट कर्जा असुली गर्दा पेनाल्टी वा अतिरिक्त शुल्क लिन नपाउने भएका छन् ।नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौन्द्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा जारी गर्दै निषेधाज्ञा र सो अवधि समाप्त भएको एक महिनासम्म कुनै प्रकारको असुली र लिलामीसम्बन्धी सुचना जारी गर्न नपाउने व्यवस्था गरेको हो ।
यस्तै निषेधाज्ञाको अवधिमा कर्जाको किस्ता वा व्याज भुक्तानी गर्ने ग्राहकलाई छुट दिन बैंक तथा वित्तीय संस्थाहरुलाई प्रोत्साहित गरिने पनि समिक्षामा उल्लेख छ । अघिल्लो बर्ष लकडाउनको समयमा १० प्रतिशत छुटको व्यवस्था गरिएपनि यसपालि भने छुटको घोषणा गरिएको छैन ।
यस्तै लिक्विड अक्सिजन प्लाण्ट वा अक्सिजन प्लाण्ट स्थापना गर्ने उद्योगले बैंकहरुको आधार दरमा नै ऋण पाउने भएका छन । हाल सञ्चालनमा रहेका स्वास्थ्य सेवा प्रदायक संस्था, अस्पताल वा उद्योगहरुलाई लिक्विड अक्सिजन प्लाण्ट स्थापनाको लागि ५० करोडसम्म तथा अक्सिजन प्लाण्ट स्थापनाका लागि २० करोड रुपैयाँसम्मको कर्जालाई एक बर्षको विशेष पुन:कर्जा उपलब्ध गराउने निर्णय पनि केन्द्रीय बैंकले गरेको छ ।यस्तै बैंक तथा वित्तीय संस्थाहरुले ऋणसँगै निक्षेपको व्याजदर परिवर्तन हुँदा ग्राहकलाई विद्युतीय माध्यमबाट तत्काल जानकारी दिन केन्द्रीय बैंकले निर्देशन दिएको छ ।