काठमाडौं । दशैंमा टीका लगाएर नयाँ नोट दक्षिणा दिने चलन छ । त्यसैले नेपाल राष्ट्र बैंकले हरेक वर्षको दशैंमा नयाँ नोट निकाल्छ । तर, नोटहरुको जतन नहुँदा राज्यले ठूलो आर्थिक नोक्सानी व्यहोर्ने गरेको छ ।
राष्ट्र बैंकका अनुसार वर्षेनी करोडौं मूल्यका नोटहरु प्रयोगमा आउन नसक्ने गरी बिग्रिन्छन् । यदि तपाईंसँग भएको नोट काम नलाग्ने अवस्थामा पुगेको छ, तर त्यो नोटको नम्बर प्रष्ट देखिन्छ भने राष्ट्र बैंकबाट साटेर अर्को नलैजान सक्नुहुन्छ ।
अब तपाई लाग्न सक्छ, हामीसँग लिएको थोत्रा नोट राष्ट्र बैंकले गर्छ चाहिँ के ?
नेपाली नोटहरुको आयु धेरै लामो हुँदैन । ठूला नेपाली नोटहरुको आयु ५ देखि ६ बर्ष हुने अनुमान गरिएको राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभाका कार्यकारी निर्देशक लक्ष्मी प्रपन्न निरौला बताउँछन् । उनका अनुसार एक हजार रुपैयाँ र ५ सय रुपैयाँ भन्दा कमका नोटको आयु अझ कम हुन्छ । यी साना नोटहरुको आयु २ देखि ३ वर्षको मात्र हुने अनुमान राष्ट्र बैंकको छ ।
राष्ट्र बैंकका अनुसार अहिले करिब ५ खर्ब रुपैयाँ बराबरका नेपाली नोट प्रचलनमा छन् । यसमध्ये राष्ट्र बैंक स्थापना हुनुअघि नै सरकारले निष्काशन गरेको ५७ लाख ५७ हजार ८ सय ९२ रुपैयाँ विभिन्न दरका नोटहरु समेत छन् ।
राष्ट्र बैंकको असोज पहिलो साताको तथ्यांकले बजारमा ४ खर्ब ९१ अर्ब ५९ करोड रुपैयाँ बराबरका विभिन्न नोटहरु प्रचलनमा रहेको देखाउँछ । जति नोट प्रचलनमा छन्, सोही हाराहारीमा हालसम्म राष्ट्र बैंकले नोट जलाइसकेको छ । करिब ५ खर्ब रुपैयाँ बराबरका नोट बजारमा रहेको र झण्डै सोही परिमाणका थोत्रा नोट जलाएर नष्ट गरिएको राष्ट्र बैंकले बताएको छ ।
कसरी नष्ट गरिन्छ नोट ?
मुलुकको केन्द्रीय बैंकसमेत भएका कारण राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुको नियमन सुपरिवेक्षणका साथै मुद्रा छपाउनेदेखि नष्ट गर्ने सम्मका सम्पूर्ण कामहरु गर्ने अधिकार पाएको छ ।
यसका लागि २०५८ मा बनेको ऐनले नेपाल राष्ट्र बैंकलाई अधिकार दिएको छ । राष्ट्र बैंकले तपाईको थोत्रो नोटको सट्टा अर्को नोट साटिदिन सक्छ । तर, डिजाइन मेटिएको, च्यातिएको, विकृत वा ५० प्रतिशतभन्दा बढी भाग नभएको नोट सटही गर्न इन्कार गर्न सक्ने अधिकार पनि राष्ट्र बैंकमा छ ।
राष्ट्र बैंकमा मुद्रा सम्बन्धी काम गर्ने मुद्रा व्यवस्थापन विभाग छ । जसको प्रमुख हाल राष्ट्र बैंकको प्रवक्ता समेत रहेका निरौला छन् । राष्ट्र बैंकमा यस विभागले तोकेको व्यक्ति संयोजक रहने गरी एउटा समिति बन्छ । यो समितिमा अर्थ मन्त्रालयको प्रतिनिधि, राष्ट्र बैंककै कानून विभागको अधिकृत, विभाग प्रमुखले तोकेका थप एक सदस्य र विभागकै एक अधिकृत सदस्य सचिव हुने व्यवस्था छ ।
राष्ट्र बैंकमा जम्मा भएका थोत्रा तथा काम नलाग्ने अवस्थामा पुगेका नोटहरु यहि समितिले निर्णय गरेर नष्ट गर्न सक्छ । राष्ट्र बैंकको काठमाडौं उपत्यकामा मात्रै नभएर ७ वटै प्रदेशमा कार्यालयहरु छन् । ती कार्यालयहरुमा समेत कहिलेकाहीँ नोट नष्ट गर्नु पर्ने अवस्था सिर्जना हुन्छ । त्यस्तो अवस्थामा राष्ट्र बैंकको सम्बन्धित कार्यालयको प्रमुख संयोजक रहने समितिले निर्णय गरेर नोट नष्ट गर्न सक्ने प्रावधान छ ।
समितिले जम्मा भएका नोट सिधै नष्ट भने गर्दैन । सबैभन्दा पहिला राष्ट्र बैंकले नष्ट गर्ने भनेर तयार पारेका नोट के कति छन् भनेर यकिन गर्छ । ती नोटहरुमा प्वाल पार्नु पर्ने हुन्छ । काम नलाग्ने भनेर चिन्नका लागि ती नोटहरुमा पञ्चिङ मेसिनले प्वाल पार्ने गरिन्छ ।
यद्यपि, छपाई बिग्रेका र नेपाल राष्ट्र बैंक नोट सट्टाभर्ना नियमावली, २०५९ बमोजिम सट्टा भर्नाको दाबी परी प्राप्त हुन आएका नोटहरू धुल्याउँदा भने प्वाल पार्नु नपर्ने व्यवस्था छ ।
जम्मा पारेर पञ्चिङ मेसिनले समेत प्वाल पारिसके पछि पुनः नोट के–कति परिमाणमा जलाउन लागिएको हो भनेर एकिन गरी मुचुल्का बनाएर राष्ट्र बैंकले ती नोटहरु जलाएर खरानी बनाउने गरेको छ ।