वीरगन्ज । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमणको चक्र नरोकिए अस्पतालहरुमा बिरामी राख्न नसकिने चेतावनी दिएको छ । कोरोना संक्रमण दर ह्वात्तै बढेकाले सार्वजनिक स्थानमा हुने कार्यक्रम सहभागी नहुन सर्वसाधरणलाई आग्रह गरेको छ । कोरोना संक्रमण सबै वर्ग र उमेर समूहमा फैलिएकाले सर्तक रहन सबैलाई मन्त्रालयले अपिल गरेको छ ।
छिमेकी देशहरुमा स्वास्थ्य सेवा प्रवाह प्रणाली समेत तहसनहस परी नियमित स्वास्थ्य सेवा उपलब्ध गराउन र संक्रमित संक्रमितलाईहरु राखेर हेरचार गर्न नसकिएको हृद्धयविदारक घटना देखिएको भन्दै नेपालका कति स्थानमा त्यस्तै अवस्था सृजना भइसकेकोले संक्रमणबाट सचेत रहन मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीद्वारा जारी गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
यस्तै मन्त्रालयले आमसञ्चारमा समाचार पढ्दा, अन्तर्वार्ता लिँदा वा कुनै पनि कार्यक्रमहरूका समाचार बनाउँदा मास्कको प्रयोग अनिवार्य गरिदिनुहुन तथा मास्कको प्रयोग नगर्ने व्यक्तिहरुका समाचार सूचनाहरूलाई निरुत्साहित गर्न, बन्द गर्न, प्रकाशन प्रशारण नगर्न पनि अनुरोध गरेको छ ।