वीरगन्ज । भारतमा कोरोना भाइरस संक्रमित हुनेको सङ्ख्यामा नयाँ रेकर्ड कायम नै रहेको छ । पछिल्ला केही दिन यता दैनिक नयाँ रेकर्ड कायम हुँदै आएको भारतमा पछिल्लो २४ घण्टामा करिव साढे तीन लाखमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
वर्ल्डओमिटरका अनुसार पछिल्लो २४ घण्टामा थप ३ लाख ४९ हजार ३१३ जनामा संक्रमण भएको छ । २४ घण्टामा संक्रमण पुष्टि हुनेको यो संख्या भारतमा अहिलेसम्मकै धेरै हो ।
यो सँगै भारतमा सङ्क्रमितको संख्या १ करोड ६९ लाख ५१ हजार ७६९ पुगेको छ । अहिले सम्म १ करोड ४० लाख ७८ हजार ८१ जना संक्रमणमुक्त भएका छन् । अब भारतमा सक्रिय सङ्क्रमितको संख्या २६ लाख ८१ हजार ३७८ छ ।
यस्तै भारतमा कोरोना सङ्क्रमणले मृत्यु हुनेको संख्या १ लाख ९२ हजार ३१० पुगेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ थप २ हजार ७६१ जनाको मृत्यु भएको छ ।
साथै अहिले अस्पतालमा सङ्क्रमितको ‘सुनामी’ आइरहेका बेला अक्सिजनको हाहाकार भएको छ । बिरामीले खचाखच भरिएका अस्पतालहरूले शनिबार अक्सिजन प्रबन्ध गरिदिन प्रदेश र केन्द्र सरकारलाई अनुनयरविनय गरेका छन् ।
उत्तरी भारतमा अस्पतालहरू सञ्चालन गरिरहेको म्याक्स हेल्थकेयरले शनिबार ट्वीट गर्दै आफूसँग दुई घन्टालाईमात्र पुग्ने अक्सिजन भएको जनाएको थियो । त्यस्तै फोर्टिस हेल्थकेयरले अक्सिजन नभएकाले दिल्लीका आफ्ना अस्पतालमा नयाँ बिरामी भर्ना नगर्ने जनाएको छ ।
केही अस्पतालहरूले ब्याकअपका लागि राखेको अक्सिजन दिएर धानेका छन् । सरकारले टाढा९टाढाबाट दिल्लीमा अक्सिजन ल्याउनका लागि सैनिक जहाज र रेल पठाएको छ । सिंगापुरलगायत देशबाट पनि भारतले अक्सिजन ल्याउन लागेको छ ।
श्वासप्रश्वासमा समस्या हुने भएकाले कोरोनाले गलेका बिरामीलाई भेन्टिलेटरमा राखेर अक्सिजन दिनुपर्छ । एकै समयमा धेरै बिरामीलाई भेन्टिलेटरमा राख्दा अक्सिजनको अभाव भएको हो ।
दिल्लीका अस्पतालहरू यसै साता केन्द्र र प्रदेश सरकारलाई मेडिकल सामग्री (विशेष गरी अक्सिजन) को प्रबन्ध गर्ने आदेश माग्दै अदालत गएका थिए । कतिपय बिरामीलाई आफन्तले अस्पतालको करिडोर र सडकमै राखिरहेका छन् ।
मृतकको संख्या बढेपछि दिल्लीका अन्तिम संस्कार गर्ने ठाउँको अभाव भएको छ । विज्ञहरूले अहिले पनि भारतमा थुप्रै संक्रमितहरू रेकर्डभन्दा बाहिर रहेको हुन सक्ने बताएका छन् ।