वीरगंज | कोरोना भाइरसको फैलावट कम गर्न मास्कले महत्त्वपूर्ण भूमिका खेल्छ। त्यसैले यसको प्रयोग नगर्ने कमै होलान्। मास्क विभिन्न थरीका हुन्छन्। सबै थरीका मास्कको काम धुवाँ, धुलो र किटाणुबाट जोगाउनु नै हो। तर त्यही मास्कले तपाईंको छालामा विभिन्न समस्या निम्त्याउछ सक्छ भन्ने कुरा सबैलाई थाहा नहुन सक्छ।
मास्कले अनुहारमा डण्डिफोर गराउने वा पुरानो डण्डिफोर बढाउने, एलर्जी गराउने, रोजेसिया बढाउने, छाला सुख्खा गराउने र संवेदनशील बनाउने, छाला उप्किने वा चिलाउने हुनसक्छ। मास्कको प्रयोगले आँखा र कानमा समेत एलर्जी गराउन सक्छ। यसको अड्याउने डोरीले कानको पछाडि घाउ समेत बनाउन सक्छ। यस्ता समस्या रोक्न छाला रोग विशेषज्ञसँग सम्पर्क राख्नुपर्छ।
मास्कको प्रयोगले अनुहारमा हुने समस्या रोक्ने उपाय
१. आफ्नो अनुहार दैनिक रुपमा धुनुहोस र नियमित मोइस्चराइजर लगाउनुहोस्। छालाको उचित स्याहारले विभिन्न समस्यालाई रोक्न मद्दत गर्छ। अनुहार धुँदा हल्का, सुगन्ध रहित क्लिन्जर प्रयोग गर्नुहोस् र त्यसपछि मोइस्चराइजर लगाउनुहोस्। यसको प्रयोग गर्नाले छालामा सुरक्षात्मक तह थपिन्छ, जसले सुख्खापनालाई हटाउँछ। फरक प्रकृतिको छालामा फरक किसिमको मोइस्चराइजरको प्रयोग उचित हुन्छ।
– चिल्लो छाला छ भने वा गर्मी मौसममा: जेल मोइस्चराइजर
– सामान्य छालामा: लोसन मोइस्चराइजर र
– धेरै सुख्खा छालामा: क्रिम मोइस्चराइजर
यदि तपाईंको छाला चिल्लो छ वा डण्डिफोर आउँछ भने जेल मोइश्चराइजर प्रयोग गर्न सक्नुहुन्छ। त्यसका साथै, मास्क लगाउनुअघि र पछि मोइस्चराइजर लगाउनुहोस्। यदि तपाईंको छाला सुख्खा वा संवेदनशील छ भने क्रिमयुक्त मोइस्चराइजरले यस्ता समस्या रोक्न सक्छ।
२. ओठको हेरचाह
मास्क लगाउने मानिसको ओठ ज्यादा सुख्खा र च्यापच्याप टाँसिने हुनसक्छ। तसर्थ, ओठमा लिप बाम वा पेट्रोलियम जेली वा भेसलिन लगाउनाले ओठ सुख्खा हुँदैन। यसलाई कम्तीमा ३-४ पटक लगाउने गर्नुपर्छ।
अनुहार धोएपछि,
मास्क लगाउनुभन्दा अघि र
सुत्ने बेलामा
३. श्रृंगार (मेकअप) नगर्ने/कम गर्ने
मास्कको मुनि मेकअपको खासै फाइदा हुन्न तर यदि लगाउनै परे नन-कमेडोजेनिक, कम चिल्लो भएका श्रृंगार सामग्री प्रयोग गर्नुहोला।
४. मास्कको प्रयोगले छाला अति सम्वेदनशील बनाउँछ। यस्तो बेलामा नयाँ किसिमको कुनै पनि कस्मेटिक लगाउन सुरु नगरेकै बेस। यस्तो बेलामा केमिकल पिलिङ वा अनुहारको अपरेसन नगरेकै राम्रो हुन्छ।
५. छालामा पहिलेदेखि नै समस्या छ भने विशेष क्रिम वा औषधिको प्रयोग कम गर्ने। छाला सुख्खा बनाउने औषधिहरु जस्तै: Retinoic acid, salicylic acid, glycoclic acid, after shave lotion आदिको प्रयोग घटाउने।
६. उचित मास्कको प्रयोग गर्ने
मास्कहरु नरम, आरामदायी, कम्तीमा २ तह भएको, प्राकृतिक, अनुहारमा ठिक्क हुने वा नकस्सिने हुनुपर्छ। यसले नाक, कान, मुख, आँखा र कपालमा समस्या नगर्ने खालको हुनुपर्छ। मास्कको डोरी समेत प्राकृतिक चिजले बनेको, नकस्किने र ठिक्कको हुनुपर्छ।
७. सकेसम्म प्रत्येक चार घण्टामा उचित र सुरक्षित ठाउँ र स्थिति हेरेर, हात धोएपछि मास्क खोल्नुहोस। मास्क खोल्न सुरक्षित स्थान भन्नाले घरबाहिर हुँदा अन्य व्यक्तिभन्दा ६ फिट टाढा हुँदा वा घरमा वा आफ्नो गाडीभित्र बुझ्नुपर्छ।
८. यदि तपाईंको मास्क कपडाले बनेको छ भने नियमित धुनुहोस। यसले तेल र छालाको कोषहरू हटाउँछ र सुरक्षित बनाउँछ।
९. छालामा पहिलेदेखि नै कुनै समस्या छ र चर्मरोग विशेषज्ञको सल्लाहमा औषधि प्रयोग गरिरहनु भएको छ भने त्यसलाई निरन्तरता दिनुहोस्। नियमित रुपमा उक्त विशेषज्ञको सम्पर्कमा बस्नुहोस्।