वीरगंज | सत्तारुढ नेकपा एमालेको माधव नेपाल र झलनाथ खनाल समूह पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अदालत जाने भएको छ। अध्यक्ष ओलीले सर्वोच्च अदालतले फागुन २३ गते गरेको फैसलाविराेधी गतिविधि गरेको आरोप लगाउँदै नेपाल–खनाल समूहले अदालत जाने तयारी गरेको हो।
अदालतले फागुन २३ मा नेकपा खारेज गर्दै एमालेलाई ०७५ जेठ २ कै अवस्थामा फर्काएको थियो। ‘अध्यक्ष ओलीले अदालतको आदेशको अवहेलना गरिरहनुभएको छ,’ नेपाल–खनाल समूहका एक नेताले भने, ‘त्यसविरुद्ध हामी अदालत जान लागेका हौं।’ यसबारे कानुनी व्यवसायीसित छलफल भइरहेको उनले बताए।
नेपाल–खनाल पक्षले अदालतको आदेशअनुसार पार्टी एकीकरण हुनुपूर्वको अवस्थामा फर्किनुपर्ने बताउँदै आएको छ।अध्यक्ष ओलीले मंगलबार नेताहरूलाई स्पष्टीकरण सोधेपछि माधव नेपाल पक्ष झनै आक्रोशित बनेको छ।नेतृ रामकुमारी झाँक्रीले पनि राजनीति र कानुनी लडाइँ लड्ने बताएकी छन्।