वीरगंज | चीनमा एमबिबिएस अध्ययन पुरा गरी २ देखि ९ महिनाको इन्टर्नसिप बाँकी रहेका नेपाली विद्यार्थीले नेपालमै इन्टर्नसिप गर्न पाउने सम्भावना देखिएको छ।कोरोना संक्रमणका कारण इन्टर्नसिप पुरा गर्न नपाउँदै नेपाल फर्किएका सन् २०१४ ब्याचका १५२ जना विद्यार्थीको इन्टर्नसिप नेपालमै गराउने विषयमा नेपाल मेडिकल काउन्सिल सकारात्मक रहेकाले उनीहरुको इन्टर्नसिप नेपालमै हुने सम्भावना देखिएको हो।
सोमबार बसेको काउन्सिलको बोर्ड बैठकमा काउन्सिलका पदाधिकारीहरु चीनमा इन्टर्नसिप गर्न बाँकी रहेका नेपाली विद्यार्थीलाई नेपालकै मेडिकल कलेज तथा प्रतिष्ठानहरुमा इन्टर्नसिप गराउने विषयमा सकारात्मक रहेको काउन्सिलका एक सदस्यले बताए।
उनका अनुसार चिकित्सा शिक्षा आयोग गठन भएपछि मेडिकल विद्यार्थीको भर्ना प्रक्रिया र इन्टर्नसिप लगायतको निर्णयको अधिकार आयोगलाई छ। यदी आयोगले ती १५२ जना विद्यार्थीहरुलाई नेपालका विश्वविद्यालय तथा प्रतिष्ठानमा इन्टर्नसिप गर्ने व्यवस्था मिलाउने निर्णय गरेमा काउन्सिलले पनि स्वीकृती दिने उनको भनाइ छ।
‘आयोगले यी विद्यार्थीहरुलाई इन्टर्नसिप गराउनु भनेर विद्यार्थी संख्याका आधारमा विश्वविद्यालय तथा प्रतिष्ठानको नाम तोकिदिएमा काउन्सिलले पनि सोही अनुसार गर्ने भन्ने निर्णय भएको छ,’ स्रोतले स्वास्थ्यखबरसँग भन्यो, ‘यी विद्यार्थीको मागका विषयमा काउन्सिल सकारात्मक रहेकाले काउन्सिलले आयोगमा पत्र पठाउने निर्णय भएको हो।’
कोरोना संक्रमणपछि इन्टर्नसिप छाडेर नेपाली विद्यार्थीहरु गत वर्षको फेब्रुअरीमा नेपाल आएका थिए।
उनीहरुको भिसा सेप्टेम्बरमा सकिएको छ। कोरोनाको महामारीपछि चीनले विद्यार्थी भिसा दिएको छैन। भिसा सकिएको र फेरी जाने वातावरण पनि नभएपछि नेपालमै इन्टर्नसिप गराउने व्यवस्था गरिदिन माग गर्दै विद्यार्थीहरुले काउन्सिलमा निवेदन समेत दिएका थिए।
कुनै पनि निकायले आफूहरुको माग सम्बोधनको प्रयास समेत नगरेको भन्दै अघिल्लो आइतबारदेखि नै काउन्सिल अगाडी धर्ना दिएर बसेका छन्। उनीहरुले आफूहरुको समस्या सुनुवाइ नभएसम्म धर्नामै रहने जनाएका छन्।