महोत्तरीकाे Iधर्वेन्द्र कुमार यादव ।यस क्षेत्रकै प्रसिद्ध शक्ति पिठको रुपमा रहेको सोनामाईमा प्रत्येक वर्षझैँ यस वर्ष पनि (डाइन) बोक्सी नियन्त्रण गर्ने भूतप्रेत मेला सप्तमी देखि लाग्ने गरेका छन।
औरही नगरपालिका वडा ७ मा अवस्थित सोनामाई शक्तिपीठ परापूर्वकालदेखि नै भूतमेलाका लागि प्रख्यात छ । हरेक वर्ष बडादशैँको सप्तमीदेखि विजयादशमीसम्म सोनामाईमा लाग्ने भूत मेला यस वर्ष पनि लागेको सोनामाई मन्दिरका पुजारी केदार झाले बताए ।
बडादशैँको सप्तमीदेखि विजयादशमीको दिनसम्म चल्ने भूतमेलामा हजारौं पीडित (कारनी) र दर्शनार्थीको भीड लाग्छ ।
भूतप्रेत, बोक्साबोक्सी र दुष्ट आत्माले सताइएका हजारौँ पीडित प्रत्येक वर्ष सो मेलामा आउँछन् । सोनामाईको कृपाले यहाँबाट मानिसहरु निको भएर जाने गरेको जनविश्वास छ ।
वर्षौंदेखि भूत, पिशाच, कालो जादुटुना र बोक्साबोक्सीको कुचक्रमा परेर जीवनमृत्युको दोसाँधमा परेकाहरु सोनामाईको सीमाक्षेत्रमा आउनेबित्तिकै आफू कसबाट सताइएको भन्नेबारे लड्दैपड्दै, रुँदैहाँस्दै आफैँ बक्न थाल्दै देवी दरबारसम्म पुग्ने र माताको दृष्टि परेपछि निको भई आआफ्ना घर फर्कने गरेको अर्का पुजारी झगरु झाले बताए ।
मेलामा महोत्तरी, सर्लाही, धनुषा, सिरहा, रौतहटलगायत नेपालका मकवानपुर, सुनसरी, मोरङ र काठमाडौँदेखि भारतका सीतामढी, मधुवनी र पटना शहरसम्मका हजारौँ पीडित महिला र पुरुष पुग्ने गरेका छन् ।