वीरगञ्ज । प्रदेश २ का भौतिक पूर्वाधार विकासमन्त्री जितेन्द्र सोनलले प्रदेश परिवहन सेवा फागुन महिना भित्रै सञ्चालनमा ल्याउने बताएका छन् ।जनतालाई सरल, सुलभ तथा व्यवस्थित यातायात सेवा प्रदान गर्ने उद्देश्यले भौतिक पूर्वाधार विकास मन्त्रालयले धनतेरसका दिन ३ करोड ९ लाख ८२ हजार रुपैयाँमा ५ वटा बस खरिद गरेको थियो । ५ वटै बसको भुक्तानी गत पुस महिना मै भईसकेकोले कार्यविधि निर्माणको कार्य सम्पन्न भएलगत्तै बस सेवा सञ्चालनमा आउने मन्त्री सोनलले बताए ।
बस सेवा सञ्चालनका लागि एउटा संचालक समितिको गठन गरिनेछ । जसले बस सेवा संचालनको सम्पूर्ण जिम्मा उठाउने छ ।’ संचालक समितिले नै बसको चालक, सहचालक तथा कन्डेक्टरको भर्ती गर्ने मन्त्री सोनलले जानकारी दिए । यो प्रदेश परिवहन सेवा सञ्चालनमा आएपछि सार्वजनिक यातायातभन्दा सरल, सुलभ, सुरक्षित र व्यवस्थित हुने मन्त्री सोनलले दावी गरे ।
प्रदेश परिवहन सेवा सञ्चालन भएपछि यसले प्रदेशको ८ वटै जिल्लाका सदरमुकामलाई जोड्नेगरी सेवा प्रदान गर्ने छ । जनकपुरधामदेखि वीरगञ्ज, वीरगञ्जदेखि जनकपुरधाम र जनकपुरधामदेखि राजविराजसम्म परिवहन सेवा सञ्चालन गरिने मन्त्रालयले जानकारी दिएको छ । ५० सीट क्षमता भएको सो बसमा सीसीटीभी क्यामेरा, स्वचलित ढोका र वाइफाइको सुविधा समेत रहेको बताइएको छ ।