वीरगन्जमा १० किलोमिटर दुरी अन्तरदेशीय म्याराथनको उपाधि अनिललाई
वीरगंज संजाल
११ आश्विन २०७६, शनिबार २२:१२
४६२९
वीरगन्ज । वीरगन्जमा शनिवार आयोजित अन्तरदेशीय म्याराथनको उपाधि अनिलकुमार साहले जितेका छन्। पर्सा जिल्ला एथलेटिक्स संघले आयोजना गरेको म्याराथनको उपाधि वीरगन्ज १० घडीअर्वाका १९ वर्षीय साहले जितेका हुन्।
दम्याराथनको १० किलोमिटर दुरी उनले ३७ मिनेट ५६ सकेण्डमा पुरा गरेका हुन्। म्याराथनमा रौतहटको कटहरीया नगरपालिका १ भसेडवाका १४ वर्षीय आदेशकुमार यादव दोश्रो र वीरगन्ज ३ छपकैयाका १८ वर्षीय महम्मद ओसामा हवारी तृतीय भएका छन्।
१० किलोमिटर दुरी यादवले ३८ मिनेट ४२ सेकेण्डमा र हवारीले ३९ मिनेट ५९ सेकेण्डमा पुरा गरेका हुन्। म्याराथनको उपाधि विजेता साहले मेडल सहित ११ हजार रुपैयाँ नगद पुरस्कार पनि पाएका छन्। दोश्रो भएका यादवलाई भने मेडलसहित नगद ५ हजार र तेश्रो भएका हवारीलाई नगद तीन हजार रुपैयाँ पुरस्कार प्रदान गरिएको आयोजक एथलेटिक्स संघका अध्यक्ष वीरेन्द्र पटेलले जानकारी दिए।
यस्तै म्याराथनमा महिलातर्फको उपाधि भने वीरगन्जकी संगीता यादवले जितेकी छन्। उनले १० किलोमिटरको दुरी ४८ मिनेट १७ सेकेण्डमा पुरा गरेकी हुन्। महिलातर्फ रेहाना खातुन द्वितीय र नाजिया हुसन सिद्धिकी तृतीय भएकी छन्।
पहिलो, दोश्रो र तेश्रो भएकालाई पनि क्रमश ११ हजार, ५ हजार र ३ हजार नगद पुरस्कार र मेडल प्रदान गरिएको अध्यक्ष पटेलले बताए। खुल्ला म्याराथन प्रतियोगितामा पुरुष र महिला गरी एक सय २५ जनाले भाग लिएको एथ्लेटिक्स प्रशिक्षक विश्वेश्वर पटेलले जानकारी दिए।
वीरगन्जको घण्टाघर चोकबाट सुरु भएको दौड प्रतियोगिता माइस्थान, आदर्शनर, अलखीयामठ, घडीअर्वा, मुर्ली, पावरहाउस चोक हुँदै गण्डक चोकमा रहेको शहिद तेज बहादुर अमात्यको शालिकस्थलबाट फर्किएर पुन घण्टाघर चोकमै पुगेर सकिएको थियो। म्याराथन प्रतियोगिताको उद्घाटन सामाजिक अभियन्ता प्रकाश थारुले गरेका थिए।