बीरगन्ज । बीरगन्ज महानगरपालिका वडा नं १० लोहारपट्टी चोकदेखि आदर्शनगर (कैलाश होटल) चोकसम्म चार पाङ्गरे सवारीसाधन पार्किङ्गमा प्रतिबन्ध लगाइएको छ । स्थानिय व्यापारीहरुको सहमतिमा पार्किङ्ग निषेध गरिएको हो । सांघुरो सडकमा चार पाङ्गरे सवारी पार्किङ्ग गर्दा जाम लाग्ने तथा दुर्घटनाको जोखिम उच्च हुने हुँदा पार्किङ्ग निषेध गरिएको जनाइएको छ ।
उक्त क्षेत्रमा व्यापार व्यवसाय सञ्चालन गर्ने करिब १ सय २५ जना व्यापारीहरुको सहमतिमा पार्किङ्ग निषेध गर्ने सहमति गरिएको ग्रीन सिटी सामुदायिक सेवा केन्द्रका अध्यक्ष जय प्रकाश खेतानले बताए । यसैबिच सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत शुक्रबार वीरगञ्जमा ट्राफिक सम्बन्धि जनचेतनामुलक कार्यक्रम गरिएको छ ।
ग्रिन सिटि सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगर र जिल्ला ट्राफिक कार्यालय पर्साको संयुक्त आयोजनामा बीरगन्जको मुख्य बजारमा सवारीसाधन पार्किङ्ग र ट्राफिक नियम सम्बन्धि पर्चा बाँडेर जनचेतना मुलक कार्यक्रम गरिएको हो ।
जनचेतना कार्यक्रम दौरान अव्यवस्थित तरिकाले फुटपाथ पार्किङ्ग गरेर राखिएका ७० वटा मोटरसाइकललाई कारवाही समेत गरिएको थियो । सबै मोटरसाइकल धनीहरुलाई चेतावनी दिएर छाडिएको ग्रिन सिटि सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगरका अध्यक्ष जय प्रकाश खेतनाले बताए ।
कार्यक्रममा जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी निरीक्षक सुमन कार्की, शसस्त्र प्रहरीका सही गोकुल बर्स्याल, बीरगन्ज महानगरपालिका नगर प्रहरीका प्रमुख हरि भुषाल, उद्योग वाणिज्य संघ बीरगन्जका सदस्य मनोज शर्मालगायतको सहभागिता रहेको थियो ।