सुरुङमार्ग निर्माण सम्झौता, १५ अर्ब २५ करोड लागतमा ४२ महिनामा निर्माण सकिने
वीरगंज संजाल
७ आश्विन २०७६, मंगलवार ०९:३६
४५८३
काठमाडौं । थानकोट–नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गको निर्माण सम्झौता भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गतको विकास सहायता कार्यान्वयन महाशाखा र निर्माणको जिम्मा पाएको हाज्मा एन्डो कर्पोरेसनबीच निर्माण सम्झौता भएको हो ।
ललितपुरस्थित महाशाखाको कार्यालयमा सोमबार विकास सहायता कार्यान्वयन महाशाखाका प्रमुख अर्जुनजङ्ग थापा र हाज्मा एन्डो कर्पोरेसनका व्यापार प्रवद्र्धन विभाग, अन्तर्राष्ट्रिय महाशाखाका महाप्रबन्धक कियोसी हिरोसेकबीच सम्झौता भएको हो ।
सम्झौतासँगै मुलुककै पहिलो सुरुङमार्गको निर्माण सुनिश्चित भएको हो । दुईवटा फ्लाई ओभरसहित निर्माण हुन लागेको सो सुरुङमार्ग अबको ४२ महिनाभित्र सम्पन्न हुने छ ।
करसहित करिब १५ अर्ब २५ करोड रुपियाँको लागतमा निर्माण हुन लागेको सुरुङमार्गको निर्माण सम्झौता करबाहेक साढे १३ अर्ब रुपियाँमा भएको हो ।
आजको गोरखापत्र दैनिकमा भउचप्रसाद यादवले यो समाचार लेखेका छन् ।