

वीरगंज | कार्तिक शुक्ल पूर्णिमा (नहान) दिन मंगलबार कपिलवस्तुका छुट्टा छुट्टै १९ स्थानमा मेला लागेको छ।
बाणगंगा नदीको रामघाट, लक्ष्मणघाट, मनोहरापुर, बर्गदीघाट, कजराहवा, यशोधरा गाउँपालिका ७ बेलसापुर र वडा नम्बर ४ पसोहियापुल, शिवराजनगरपालिका ११ ककराहवा घाट, शिवराजन नगरपालिका ८ लक्ष्मणघाट, बिजयनगर गाउँपालिका ८ समेरीघाट, कृष्णनगर ८ सुरही खोला, बिजयनगर नगरगाउपालिका ४ शकरपुर नहर, बुद्धभुमी नगरपालिका ७ महदेवाघाट, बद्धभुमी ८ चौरगहवा कृष्णनगर १२ चरगहवा, कृष्णनगर ४ महदेवा तुलसीपुर महारजगंज ७ गैगाडी यशोधरा १ तिर्खिखी र बुद्धभुमी १० रामघाटमा मेला लागेको हो।



मंगलबार लागेको मेलामा ठुलो सङ्ख्यामा श्रद्धालुहरु आएका छन्। बाणगंगा नदीअन्तर्गत कपिलवस्तु नगरपालिका– ३ रामघाटमा श्रद्धालु भक्तजनको भीड लागेको छ।
बाणंगगा नदीको रामाघाटमा १० हजार बढी श्रद्धालु भक्तजनहरूले स्नान गरेका छन्। रामघाट मेला जिल्लाकै सबै भन्दा पुरानो मेला हो। रामघाट मेला व्यवस्थापन समिति अनुसार यस वर्ष गत वर्षको तुलनामा श्रद्धालु भक्तजनहरूको सङ्ख्यामा समेत बढेको छ।
कार्तिक शुक्ल पूर्णिमा दिन जिल्लाको बाणगंगा नदीका विभिन्न स्थानमा परम्परागत मेला लागेको छ प्राचीन भागीरथी र अहिले बाणगंगा नदीमा लाग्ने मेला प्राचीन र धार्मिक महत्त्व बोकेका श्रद्धालु भक्तजनहरू बताउँछन्।
मेलामा टाढा टाढाबाट भक्तजनहरू आएका छन्। रामघाटमा भारतको शोहरतगढ, तुुल्सीपुर, शोहरतगढ, अलीगढवा तथा छिमेकी जिल्ला दाङ, रुपन्देही, अर्घाखाची लगायतका स्थानका मानिस समेत आएका छन्।
मेलाका लागि सोमबार रातिदेखि नै भक्तजनहरू रामघाटमा जम्मा भएका थिए। भक्तजनहरूले रात भरी जाग्राम बसी भजन कीर्तन गर्दै बिहान सबेरै नदीमा स्नान गरी राम जानकी मन्दिरमा गएर पूजाआजा गरेका थिए।
यस दिन नदीमा स्नान गरी पुुजाआजा गर्नाले पाप नास भई पुण्य फल प्राप्त हुने धार्मिक विश्वास रही आएको छ। सो अवसरमा सयौँ भक्तजनहरूले पूजापाठ गरी गौ पूजा गरी दान समेत गरेका थिए।
त्रेतायगुगमा भगवान राम वनवास जाने क्रममा प्यास लागेपछि अर्जुनले बाण हानेर पानी निकालेका थिए। रामले पानी खाएपछि यस स्थानको नाम रामघाट हुन गएको बुढापाखाहरु बताउँछन्।
गौदान पूजा गराउन यशोधरा गाउँपालिकाको भडेहरबाट आएका बयोबद्ध पुजारी राम गिरीले भगवान् रामको बाणद्धारा उत्पत्ति भएको बाणगंगा नदीमा स्नान गरी गौदान गर्नाले ठूलो पुण्य फल मिल्ने बताए। ‘भगवान् राम, सीता र लक्ष्मण नुहाएको नदीमा स्नान गरी गौसहित अन्नपात दान गर्नाले वैतरणी पार हुन्छ’,उनले भने।
बाबुबाजे पालादेखि लाग्ने यो मेला जिल्ला कै सबैभन्दा पुरानो रहेको उनको दाबी छ। ‘हामीले हरेक वर्ष रामघाटमा कार्तिक पूर्णिमामा दान गर्ने गर्छौ, ’ कपिलवस्तु नगरपालिका– ३ सडवाका मोहन शुक्लाले भने ‘बाजे बज्यैको पाला देखिको परम्परालाई कायम राखेका छौ, जसले गर्दा हामीलाई पारिवारिक शान्ति र सुख मिलेको छ।’
मेलामा जिल्लासहित भारत, छिमेकी जिल्लाहरू लगायतका स्थानहरूबाट ठुलो सङ्ख्यामा सन्त, महन्त, साधुहरुहरु आएको वडा अध्यक्ष प्रकाश गैरेले बताए। भक्तजनहरू रातभर भजन किर्तन, पूजापाठ, प्रवचन र भागवतको पाठ गरेका थिए।
कपिलवस्तु नगरपालिका मेयर सुदीप पौडेलले रामघाट मेलालाई व्यवस्थापित र थप रमणीय बनाउन आफू लागि परेको बताए। यही अवसरमा कपिलवस्तुको १० मध्ये ७ पालिकाले स्थानीय बिदा समेत दिएको छन्।
मेलामा हुन सक्ने विभिन्न घटनाहरूलाई रोक्न ठुलो सङ्ख्यामा सुरक्षाकर्मी प्रहरी परिचालन गरिएको थियो।


