

वीरगंज | भारतको अयोध्याबाट प्रस्थान गरेको रेल जनकपुरधाम आइपुगेको छ। रेल जनकपुरधामस्थित रेलवे स्टेसनमा आइपुग्दा जनप्रतिनिधि, धार्मिक अगुवा तथा स्थानीयवासीले भव्य स्वागत गरेका छन्।
रेलको स्वागतका लागि जनकपुरधामका मेयर मनोजकुमार साह, जानकी मन्दिरका उत्तराधिकारी महन्त रामरोशन दास वैष्णवसहित स्थानीयवासी रेलवे स्टेसन पुगेका थिए। उनीहरूसँगै संघीय सांसद तथा मधेस प्रदेशसभाका सांसदहरू पनि स्वागतका लागि स्टेसनमा उपस्थित भएका थिए।



अयोध्या र जनकपुरधामबीच धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक सम्बन्ध रहँदै आएको छ। भगवान् रामको जन्मभूमि अयोध्या र माता सीताको जन्मभूमि जनकपुरधामलाई जोड्ने रेल सेवाको आगमनलाई दुवै क्षेत्रबीचको सम्बन्ध थप प्रगाढ बनाउने महत्वपूर्ण घटनाका रूपमा हेरिएको छ। सोमबार प्रधानमन्त्री बालेन शाह र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रुपमा भिडियो कन्फ्रेन्सको माध्यमबाट हरियो झण्डा देखाएर सरयू-कमला एक्स्प्रेसको सुभारम्भ गरेका थिए ।
रेल जनकपुरधाम आइपुग्दा स्टेसनमा स्थानीयवासीको उल्लेख्य उपस्थिति रहेको छ ।


