मुम्बई । चलचित्र निर्माता महेश भट्ट र मुकेश भट्टले बम्बे उच्च अदालतमा सोमबार अभिनेत्री लभिना लोधविरुद्ध मानहानिको मुद्दा दर्ता गराएका छन् । भट्ट दाजुभाइले अभिनेत्रीले उनीहरुविरुद्ध ‘मानहानि, निन्दनीय र झुटो आरोप’ लगाएको भन्दै १ करोड क्षतिपूर्तिको मागसहित भविष्यमा यस्ता झुटा आरोप लगाउन प्रतिबन्ध गर्न आदेश दिन आग्रह पनि गरेका छन् ।
भट्ट दाजुभाइको निवेदन (मुद्दा) सोमबार तुरुन्त सुनुवाइका लागि उठाइएको थियो, जहाँ लोधलाई जवाफ दिन भनियो । अर्को सुनुवाइ तीन सातासम्मका लागि स्थगित गरिएको छ ।
यसैबीच, लोधका वकिलले यस्ता उनीहरुविरुद्ध यस्ता कुनै बयान प्रकाशित नगर्ने आश्वासन दिएका छन् । गत साता अभिनेत्रीले सामाजिक सन्जालमा एक भिडियो पोस्ट गरेकी थिइन् । उनले महेश र मुकेश भट्टले मानिसहरुको जीवन बर्बाद गरेको भन्दै ‘बलिउड उद्योगका ठूला डनहरु’ भनेकी थिइन् ।
साथै लभिनाले भट्टको भतिजा सुमित सभरवालसँग वैवाहिक बन्धनमा बाँधिएको पनि दाबी गरिन् । उनले सभरवालविरुद्ध महिला र लागुऔषधको व्यापार गर्ने आरोप लगाउँदै सोही कारण उससँग सम्बन्ध विच्छेदका लागि मुद्दा दायर गरेको पनि बताएकी छिन् ।
यता भट्ट दाजुभाइले भने निवेदनमा सुमित सभरवालको प्रत्यक्ष रुपमा भट्ट परिवारसँग सम्बन्ध नभएको र उनी निवेदककी बहिनीको श्रीमानको भाइ भएको उल्लेख गरेका छन् । -बलिउड हंगामा