बलिउड अभिनेता सुशान्तसिंह राजपूतको मृत्युसँग जोडिएको लागुऔषध दुर्व्यसनी तथा ओसारपसार प्रकरणमा नार्कोटिक्स कन्ट्रोल ब्यूरो (एनसीबी)ले टेलिभिजन कलाकार प्रीतिका चौहानसहित ५ जनालाई पक्राउ गरेको छ।प्रीतिका र एक अन्य आरोपीलाई न्यायिक हिरासतमा राख्ने अदालतले आइतवार एनसीबीलाई अनुमति दिएको छ। उनीहरुमाथि अब ८ नोभेम्बरसम्म न्यायिक हिरासतमा अनुसन्धान हुनेछ।
यसअघि एनसीबीले लागुऔषध मुद्दामा २३ जनालाई पक्राउ गरिसकेको छ।एनसीबीले कलाकार प्रीतिका र उनको ग्रुपबाट नशालु पदार्थ र नगद रुपैयाँ पनि बरामद गरेको जनाएको छ।प्रीतिकाले ‘संकट मोचन हनुमान’, ‘सावधान इण्डिया’ र ‘जगत जननी मां वैष्णो देवी’ जस्ता टिभी सीरियलमा काम गरेकी छन्।
लागुऔषध प्रकरणमा एनसीबीले दीपिका पादुकोण, सारा अली खान, रकुलप्रीत सिंह र श्रद्धा कपूरजस्ता कलाकार तथा अन्यसँग सोधपुछ गरिसकेको छ। रिया चक्रवर्तीलाई एक महिना हिरासतमा राखेर अदालतको आदेशपछि जमानतमा छोडेको छ।