वीरगंज | भाइरस एक निर्जीव र जीवित कोषको परिवर्तन कालको अवस्था हो । यसको बनावट अन्य जीवको जस्तो जटिल हुँदैन । प्रोटिनको खोलभित्र हुने न्युक्लिक एसिड (आर एनए वा डिएनए) समेटिएर भाइरस बनेको हुन्छ । न्युक्लिक एसिड आफैंमा सजीव होइन । जीवनको एउटा आधारभूत अंश मात्र हो । हाम्रो शरीरका कोषहरुमा पनि डिएनए र आरएनए नामका न्युक्लिक एसिड हुन्छन् ।
भाइरसमा भएको न्युक्लिक एसिडले आफूलाई चाहिने प्रोटिन बनाउन र रासायनिक प्रतिक्रियामा सहभागी हुने क्षमता हासिल गरेपछि मात्रै त्यो सजीवको रुप धारण गर्छ । यसरी सक्रिय हुन उसले आफूलाई अनुकूल हुने वातावरण पाउनुपर्छ । त्यो अनुकूल वातावरण अन्य जीवको निश्चित कोष हुनसक्छ । त्यो कोषमा नपुगुन्जेल भाइरस निर्जिवसरह निस्क्रिय हुन्छ । तीन, चार दिनमा त्यस्तो अनुकूल वातावरण पाएमा त्यो
सक्रिय हुनसक्छ । यसैले पनि भाइरसलाई निर्जीवबाट जिवित कोषबीचको परिवर्तन कालको एक अवस्थाको रुपमा लिइएको हो । अर्थात्, निर्जिवबाट सजीवको निर्माण भएको हो भन्ने प्रमाण पनि हो, भाइरस ।
कुन भाइरस कुन कोषमा पुगेपछि सक्रिय बन्छ भन्ने चाहिँ यसमा भएको विशेष तत्व लिग्यान्ड (Ligand) ले निर्धारण गर्छ । त्यो लिग्यान्ड अन्य जीवको कोषमा रहेको रिसेप्टरसँग गएर टाँसिएपछि भाइरसमा रहेको न्युक्लिक एसिड थप प्रतिक्रियामा भाग लिनसक्छ । हरेक भाइरसको लिग्यान्ड फरक–फरक आकारका हुन्छन् । कोषका रिसेप्टरको आकार पनि फरक–फरक आकारका हुन्छन् । त्यसैले एउटा कोषको रिसेप्टरमा टाँसिन सक्ने लिग्यान्ड अर्को कोषको रिसेप्टरमा टाँसिन सक्दैन । सजिलो भाषामा भन्ने हो भने, भाइरसको लिग्यान्ड साँचो हो भने कोषमा भएको रिसेप्टर ताल्चा ।
जसरी निश्चित साँचोले निश्चित ताल्चामात्र खोल्नसक्छ त्यसैगरी निश्चित भाइरस निश्चित कोषमा मात्र सक्रिय हुनसक्छ । त्यसैले निश्चित भाइरसले ब्याक्टेरिया, वनस्पति, पशुपक्षी र मानिसको कोषभित्र पसेर विभिन्न किसिमले संक्रमण गर्न सक्छ ।
भाइरस मानिसको शरीरभित्र पाँच किसिमका माध्यमबाट प्रवेश गर्न सक्छ । यी हुन्ः
१. छाला,
२. श्वास नली,
३. खाने नली,
४. मुत्र नली, र
५. रगत ।
शरीरको निश्चित कोषमा मात्रै निश्चित भाइरस सक्रिय हुने भएकाले कुनै एक भाइरसले निश्चित प्रणालीलाई मात्र असर गर्छ । जस्तै कुकुरबाट सर्ने रेबिज भाइरसले मस्तिष्कलाई, मुसाबाट सर्ने हान्टा भाइरसले श्वासप्रश्वास प्रणालीलाई, रोटा भाइरसले पेटलाई र कोरोना भाइरसले श्वासप्रश्वास प्रणालीलाई । कोरोना भाइरसको सतहमा हुने काँडा जस्तो स्पाइक प्रोटिन फोक्सोको कोषिकाको रिसेप्टरबाट भित्र छिर्छ ।
कोरोना भाइरसले मानिसमा मात्र नभई जनावरमा पनि संक्रमण गरिराखेको हुन्छ । यसले जूनोटिक (Zoonotic) रोग गराउँछ । यो उत्परिवर्तन (Mutation) भएर मानिसमा भएको ACE1 (Angiotensin Converting Enzyme) नामक प्रापक (Receptors)
लाई आक्रमण गरी संक्रमण गर्छ । त्यसैले कोरोना भाइरसले मनिस र जनावर दुवैलाई संक्रमण गर्छ ।
(वैज्ञानिक नेपालका लागि रिसोर्सेस हिमालय फाउन्डेसनद्वारा प्रकाशित ‘कोरोनाका सय सवाल’ पुस्तकबाट साभार)