विदेशी च्यानल क्लिन फिड (विज्ञापनरहित) प्रसारण भए/नभएको कात्तिक ८ गतेदेखि अनुगमन गर्ने जनाएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले विज्ञापन ऐनको व्यवस्थाअनुसार क्लिन फिड कार्यान्वयन नगर्नेलाई कानुनअनुसार कारबाही हुने बताए । विज्ञापन (नियमन गर्ने) ऐनको व्यवस्थाअनुसार नेपालमा प्रसारण हुने विदेशी टेलिभिजन च्यानलहरूले विज्ञापनरहित (क्लिन फिड) प्रसारण गर्नुपर्ने र ऐन प्रारम्भ हुँदाको बखतमा विदेशी च्यानलसँग डाउनलिङ्क गरी प्रसारण गर्ने सम्झौता गरिसकेका संस्थाहरूले ऐन प्रारम्भ भएको मितिले १ वर्षभित्र अर्थात २०७७ कात्तिक ७ गतेभित्र विज्ञापनरहित प्रसारण गर्नुपर्ने स्पष्ट कानुनी व्यवस्था रहेको उनले बताए । यसको कार्यान्वयन गर्नु गराउनु सम्बन्धित सबै पक्षको दायित्व रहेको उनले बताए । उक्त कानून कार्यान्वयनका लागि विज्ञापन बोर्डको गठन भइसकेको उनले बताए । सरकारले संसद्बाट कानुन पारित भई कार्यान्वयन गर्ने अघिल्लो दिन मात्रै बोर्ड गठन गरेको हो ।