वीरगंज | पर्सामा नेकपाका दुई समूहबीचको झडपपछि नियन्त्रणमा लिइएका दुई नेतालाई प्रहरीले छाडेको छ । पूर्व संविधानसभा सदस्य समेत रहेका पर्साका नेकपा नेता राजकुमार गुप्ता र नेशनल मेडिकल कलेजका सञ्चालक समेत रहेका बसुद्धिन अन्सारीलाई प्रहरीले केहीबेरअघि नियनत्रणमुक्त गरेको पर्सा प्रहरी प्रवक्ता डिएसपी मनोजित कुँवरले जानकारी दिएका छन् ।
घटनामा गुप्ता र अन्सारीको संलग्नता नदेखिएकाले छाडिएको डिएसपी कुँवरले बताए । अनुसन्धानका क्रममा दोषी देखिए पुनः पक्राउ गर्ने उनको भनाइ छ । घटनामा संलग्न भएको आरोपमा अहिले ४ जना जिल्ला प्रहरी कार्यालय पर्साको नियन्त्रणमा रहेको प्रवक्ता कुँवरले जानकारी दिएका छन् ।
बिहीबार दिउँसो पर्सा जिल्लाको विन्ध्यवासिनी गाउँपालिकास्थित पर्सौनी भट्ठामा नेकपामा दुई समूहबीच झडप भएको थियो । झपडमा परी ६ जना घाइते भएका थिए । त्यसमध्ये ४० वर्षीय मुकेश चौससिया गम्भीर रहेको छ । उनको वीरगन्ज स्थित न्यूरो अस्पतालमा उपचाररत भइरहेको छ ।
नेकपा गाउँ कमिटीको शपथग्रहण कार्यक्रममा पूर्वएमाले र पूर्वमाअमोवादी पक्षबीच झडप भएको नेकपा पर्साका नेताहरुले जानकारी दिएका छन् । घटनाका मुख्य योजनाकार रहेका आशंकामा प्रहरीले बिहीबार साँझ जिल्लाका दुई नेता गुप्ता र अन्सारीलाई नियन्त्रणमा लिएको थियो ।