वीरगंज। सुस्त श्रवण क्षमता भएका विद्यार्थीहरुको पठनपाठनका लागि वीरगंजमा बहिरा स्कुल सञ्चालनमा आएको छ । स्कुलको बिहिबार एउटा औपचारिक कार्यक्रमबीच उद्घाटन भएको हो । वीरगंज महानगरपालिकाका नगरप्रमुख विजयकुमार सरावगीले विद्यालयको आज एक कार्यक्रम बीच उद्घाटन गरेका थिए ।
उद्घाटन कार्यक्रममा मेयर सरावगीले बहिरा विद्यालयलाई क्षेत्रकै नमुना स्कुलको रुपमा स्थापित गर्न आफुले कुनै कसर नछोड्ने बताए ।उनले फरक क्षमता भएका वालवालिकाहरुमा भएको सीप र दक्षतालाई समाजको विकासमा उपयोग गर्ने वतावरण बन्यो भने मात्र माजमा सबैले आत्मसम्मानका साथ बाँच्ने अवस्था बन्ने बिश्वास व्यक्त गरे ।
‘शिक्षाले नै कमजोरलाई बलवान, अज्ञानीलाई ज्ञानी, अविकासलाई विकास असभ्यलाई सभ्य बनाउने भएकोले आजको दिनमा शिक्षाको गुणस्तरीय विकासमा ध्यान पुर्याउने आवश्यक छ,’ मेयर सरावगीले भने, ‘सुस्त श्रवण क्षमता भएका व्यक्तिहरुलाई शिक्षाबाट बचित नहुन दिन हामीले विद्यालय स्थापना गरेका हौँ, यसलाई छिट्टै क्षेत्रमै नमुना विद्यालयको रुपमा विकास गर्छौं ।’
उनले बहिरा विद्यालयलाई प्रविधियुक्त बनाउने बनाउने बताए । महानगरपालिकाले विद्यालयमा अध्ययन अध्यापनकालागि आवश्यक पर्ने हरेक प्रविधि र उपकरणहरुको उपलब्ध गराउने प्रतिबद्धता समेत व्यक्त गरे ।
कार्यक्रममा वीरगंज महानगरपालिकाका शिक्षा शाखा प्रमुख अरबिन्द लाल कर्ण, वडा नम्बर १३ का वडा अध्यक्ष तुफान फारुक अन्सारी, वडा प्रहरी कार्यालय श्रीपुरका प्रहरी निरीक्षक दिपक साह, बहिरा संघ पर्साका सदस्य जुल्फिकार अन्सारी, नगर परिषद सदस्य राजकुमार महतो, वीरगञ्ज युवा समाजका अध्यक्ष कमल चौगाई, समाजसेबी दिनानाथ रौनियार, बहिरा विद्यार्थी र अभिभावकलगायतकाको उपस्थिति रहेको थियो । कार्यक्रम सञ्चालन बहिरा बिधालय व्यवस्थापन समितिका सदस्य रिताक्षेत्रीले गरेका थिए ।