वीरगंज | गाईको दूधको विषयमा पोषणविद्हरूले फरक फरक मत राखेका छन् । यसलाई मानिसको भोजनमा समावेश गर्ने कि नगर्ने ? मानव स्वास्थ्यका लागि यो कति स्वास्थ्यवर्द्धक छ ? हजारौं वर्षअघि गाईलाई घरपालुवा बनाइएको हो । त्यतिखेरदेखि दूध र त्यसबाट बनेका पदार्थ हाम्रो भोजनमा समावेश छन् । केही विशेषज्ञहरूले १० हजार वर्षदेखि दूध हाम्रो खानपानमा समावेश भएको बताएका छन् ।
तर धेरैजनाले गाईको दूध स्वास्थ्यका लागि ठीक नहुने बताएका छन् । यस विचारको समर्थन गर्नेहरूको संख्या बढिरहेको छ । त्यसैले गर्दा गाईको दूधको खपत लगातार घटिरहेको छ ।अमेरिकाको कृषि विभागले सन् १९७० पछि देशमा दूधको खपतमा ४० प्रतिशतले कमी आएको बताएको छ ।
दूधको विकल्पमा अन्य पदार्थहरू उपलब्ध हुन थालेपछि यो कमी आएको धेरैजना बताउँछन् । सोयाको दूध र बदामको दूध आजकल विकल्पका रूपमा आएका छन् । भीगन हुने चलनले पनि दूधको खपत घटाएको छ । भीगनहरू मासुबाहेक पशुसँग जोडिएका कुनै पनि खाद्य पदार्थ सेवन गर्दैनन् । अनि संसारको लगभग ६५ प्रतिशत जनसंख्यामा दूधमा पाइने सुगर अर्थात् ल्याक्टोज पचाउने सीमित क्षमता भएका कारण पनि खपत घटेको हो ।
दूधले शरीरमा पार्ने प्रभावबाट बच्नका लागि यसको उपयोग रोक्ने हो कि भन्ने प्रश्न उठेको छ । पहिला दूध मानिसका लागि कति स्वास्थ्यवर्द्धक छ भन्ने विषयमा चर्चा गरौं । बेलायतको राष्ट्रिय स्वास्थ्य सेवाका अनुसार, गाईको दूध र त्यसबाट बनेका पदार्थ पनीर, दही लगायतले क्याल्सियम र प्रोटीन दिलाउँछन् । सन्तुलित आहारका लागि ती कुरा आवश्यक हुन्छन् ।
अमेरिकाका पोषणविद् डोनल्ड ह्यान्सरडले क्याल्सियम र प्रोटीन बाहेक दूधमा अनेक किसिमका भिटामिन पाइने बताएका छन् । भिटामिन ए र डीको यो राम्रो स्रोत रहेको उनको भनाइ छ । उनी भन्छन्, ‘दूध पौष्टिक र स्वास्थ्यका लागि लाभदायक छ । तर यो अत्यन्तै आवश्यक वस्तु पनि हैन ।’ब्रिटिश न्युट्रिसन फाउन्डेसनका अनुसार, बालबालिका र वयस्कलाई आवश्यक हुने आइरन, क्याल्सियम, भिटामिन, जिंक र आयोडिन खानाले पूरा गर्न सक्दैन । दूधमा यी सबै कुरा पाइन्छन् ।
पोषणविद् शार्लेट स्टर्लिङ–रीडले भनिन्, ‘प्राकृतिक दूधका अन्य विकल्पको समस्या भनेको तिनमा प्राकृतिक पोषक तत्त्व हुँदैनन् । तिनमा पोषक तत्त्व कृत्रिम रूपमा राखिने हो । त्यसैले तिनले अपेक्षाअनुरूप फाइदा गर्दैनन् ।’प्राकृतिक रूपमा उपलब्ध हुने दूध व्यायाम गर्नेहरूका लागि लाभदायक हुन्छ । पोषणविद् रेनी म्याकग्रेगरले बताइन्, ‘दूध सम्पूर्ण भोजन हो जसमा कार्बोहाइड्रेट्स र प्रोटीनको सही अनुपात हुन्छ । यसले मांसपेशी बढाउनका लागि सहयोग गर्छ ।’
बच्चाहरूमा क्याल्सियमका लागि दूध राम्रो स्रोत हो । गर्भवती महिलाहरूलाई दूध पिउने सल्लाह दिइन्छ किनकि यसले भ्रूणका हाडहरूको निर्माण र विकासमा सहायता गर्छ ।३०० मिलिलिटर दूधको एक गिलासमा लगभग ३५० मिलिग्राम क्याल्सियम हुन्छ । एकदेखि तीन वर्ष उमेरको बच्चालाई दिनदिनै यसभन्दा बढी क्याल्सियम आवश्यक हुन्छ । तर एक वर्षभन्दा कम उमेरका बच्चालाई गाईको दूध नपिउने सल्लाह एनएचएसले दिएको छ ।
गाईको दूधको ठूलो समस्या भनेको यसमा भएको अतिरिक्त बोसो हो । किशोर र वयस्कहरूलाई दूधको तर निकालेर पिउने सल्लाह दिइन्छ । ह्यान्सरड भन्छन्, ‘वयस्कहरूका लागि दूध भिटामिन र आइरनको राम्रो स्रोत हो तर यो बोसोमुक्त वा स्किम्ड हुनुपर्छ । अनि पनीर, मक्खन र दहीका विषयमा धेरै सावधान हुनुपर्छ ।’पोषणविद्हरूका अनुसार, पनीरमा २० देखि ४० प्रतिशतसम्म बोसो हुन्छ । मक्खनमा त स्याचुरेटेड फ्याट र नूनको मात्रा पनि बढी हुन्छ ।
ह्यान्सरड भन्छन्, ‘यी खाद्यपदार्थहरूले शरीरलाई भारी मात्रामा क्यालोरी दिन्छन् । बाल्यकाल वा किशोरवयमा धेरै क्यालोरी आवश्यक हुन्छ तर वयस्क भएपछि चाहिँदैन । त्यसैले दूध सेवन गरिरहने मानिसमा मोटोपनको समस्या आउँछ ।’ल्याक्टोज पनि एक समस्या हो । दूधमा पाइने सुगर सजिलै पच्दैन । दूधबाट हुने एलर्जी पनि समस्याका रूपमा उदाइरहेको छ ।
अनि मानिसबाहेक अन्य जीवहरू वयस्क भएपछि दूध पिउँदैनन् । ल्याक्टोज पचाउन एन्जाइम आवश्यक हुन्छ र त्यो बाल्यकालमै बढी बन्छ, उमेर ढल्किँदै गएपछि कम हुन्छ । धेरै मानिसमा ल्याक्टोज पचाउने क्षमता हुँदैन । विशेषगरी एसियालीहरूमा यो क्षमता कम हुन्छ । दूधले मानिसको पाचनशक्ति कमजोर बनाउँछ र अन्य समस्या पनि निम्त्याउँछ । त्यसैले दूधको फाइदासँगै हानि पनि छ ।
बीबीसीबाट