बिरगंज । नेपाली कांग्रेसका प्रदेश सांसद उपेन्द्र कुशवाहले केपी ओली नेतृत्वको नेकपा सरकारले प्रदेश २ मा चरम आतंक सिर्जना गर्न खोजेको आरोप लगाएका छन्।
बिहीबार बसेको प्रदेश २ को प्रदेशसभा बैठकमा नेपाली कांग्रेसका प्रमुख सचेतकसमेत रहेका सांसद कुशवाहाले बुधबार नेपाली कांग्रेसका कार्यकर्ता, प्रदेश सांसद तथा संघीय सांसदहरुमाथि प्रहरीले दुर्व्यवहार गरी लाठीचार्ज गरेको भन्दै आपत्ति जनाएका हुन्।
सर्लाहीको रामनगर गाउँपालिका वडा नं. ७ सिसौटका महेन्द्र रामको कुटपिटपछि मृत्यु भएको घटनामा प्रहरीले जाहेरी दर्तासमेत गर्न नचाहेको उनले बताए। नेपाली कांग्रेसले विरोध प्रदर्शनको कार्यक्रम राखेकोमा प्रहरीले सांसदहरुलाई समेत दुर्व्यवहार गरेको उनको आरोप छ।
उनले भने, ‘केपी ओलीको सरकारले प्रदेश २ मा चरम आतंक सिर्जना गर्न खोजेको छ।’ उनले रामको घटनामा छानविन समिति गठन गर्न माग समेत गरेका छन्।
गत असोज २१ गते दुई पक्षबीच झडप हुँदा ६५ वर्षीय महेन्द्र राम घाइते भएका थिए। पछि उपचारको क्रममा उनको वीरगन्जस्थित नेपाल इन्डो अस्पतालमा मृत्यु भएको थियो। मृतक परिवारले रामलाई शहिद घोषणा, क्षतिपूर्ति तथा दोषीलाई कारबाहीको माग गर्दै आएको छ।