भारतीय राष्ट्रिय कांग्रेसका नेता राहुल गान्धीले मोदी सरकारलाई बेलायती उपनिवेशसँग तुलना गरेका छन् । कांग्रेसले संचालन गरेको ३ दिने खेती बचाओ यात्राका क्रममा गान्धीले मोदीलाई अंग्रेजसँग तुलना गरेका हुन् ।उनले अंग्रेजले पनि भारत लुटेर लगेको र मोदीले पनि भारत लुट्न कुनै कसर बाँकी नराखेको टिप्पणी गरेका हुन् ।
‘बीजेपी सरकारले किसानको मेरुदण्ड यसरी भाँचिदिएको छ, जसरी ब्रिटिश सरकारले गर्दथ्यो,’ गान्धीले मोदीमाथि प्रहार गर्दै भने, ‘पूरै देश आम्बानी र अदानीको दास भइसकेको छ । मोदी सरकारका पालामा १० रुपैयाँ पर्ने चीजलाई ५० परिरहेको छ । उपभोक्ता र किसान दोहनमा परेका छन् ।’
कांग्रेस नेता गान्धीले भवानीगढमा आयोजित ट्रयाक्टर र्यालीमा बोल्दै मोदी सरकारमाथि निशाना साँधेका हुन् ।उनले प्रधानमन्त्री मोदीलाई कृषकहरूको संरचना ध्वस्त पारेर केही ठूला व्यवसायीक घरानालाई पोस्ने खालको विधेयक ल्याएको भन्दै आलोचना गरे ।
‘किसानहरूलाई आम्बानी र आदानी जस्ता ठूला उद्योगीसँग सिधै कारोबार गर्न लगाइनेछ,’ उनले भने, ‘उनीहरूले किसानको परिश्रम दोहन मात्र गर्नेछन् र किसानले धानेको देशलाई झन् गरीब बनाउनेछन् । त्यतिबेला पुलिस, राज्य र सरकार मूकदर्शक बनेर हेरिरहनेछन् ।’