जनकपुरधाम : पूर्व–पश्चिम राजमार्ग भएर चल्ने सवारीसाधनलाई प्रदेश २ अन्तर्गतको सडकखण्ड ५ घण्टामा पार गर्नुपर्ने भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत सप्तरीको भारदहदेखि बाराको पथलैयासम्मको खण्ड प्रदेश २ मा पर्दछ । यो सडकखण्ड २ सय २५ किलोमिटर छ ।
प्रदेश २ ट्राफिक प्रहरी कार्यालय पथलैयाले सार्वजनिक सवारी साधनमा टाइमकार्ड लागू गर्दै २ सय २५ किलोमिटर यो सडकखण्ड पाँच घण्टामा पार गर्नुपर्ने नियम बनाएको हो ।
यसैगरी भारदहदेखि धनुषाको लालगढसम्म १ सय १५ किलोमिटरको दूरी २ घण्टा ४५ मिनेटमा र लालगढदेखि पथलैयासम्मको १ सय किलोमिटरको दूरी २ घण्टा ४० मिनेटमा पार गर्नुपर्ने नियम बनाइएको छ ।
यस्तै पश्चिमबाट आउने सवारीसाधनलाई पथलैयादेखि लालगढसम्म १ सय किलोमिटरको दूरी २ घण्टा ४० मिनेट र लालगढदेखि भारदहसम्म १ सय २५ किलोमिटरको दूरी २ घण्टा ४५ मिनेटमा पार गर्नुपर्ने हुन्छ ।
ट्राफिक कार्यालयले छोटो दूरीका लागि पनि टाइम कार्ड बनाएको छ । जसअनुसार भारदहदेखि शम्भुनाथसम्म ३२ किलोमिटर दुरी ४० मिनेटमा, शम्भुनाथदेखि कदमाहासम्मको २२ किलोमिटर दूरी ३० मिनेटमा, कदमाहादेखि सिरहाको बन्दीपुरसम्म ४३ किलोमिटरको दूरी ५५ मिनेटमा पुग्नुपर्ने हुन्छ ।
यस्तै बन्दीपुरदेखि धनुषाको लालगढसम्म २९ किलोमिटरको दुरी ४० मिनेटमा, लालगढदेखि कर्मैयासम्म ४९ किलोमिटरको दूरी १ घण्टा २० मिनेटमा र कर्मैयादेखि पथलैयासम्मको ५० किलोमिटरको दूरी १ घण्टा २० मिनेटमा पुग्नुपर्ने हुन्छ ।
टाइम कार्ड उल्लंघन गर्ने सवारीसाधनका चालकलाई जरिवाना तोकिने ट्राफिक प्रहरीले जनाएको छ ।
तीव्र गतिमा चलाउँदा दुर्घटना हुने र ढिलो चलाउँदा समयमै गन्तव्यमा पुग्न नसकिने अवस्थालाई रोक्न ट्राफिक प्रहरीले टाइम कार्ड लागू गर्दछ ।