ललितपुरको कुपण्डोलमा सञ्चालित विध ल्यावले नक्कली मेसिन र उपकरणबाट कोरोना भाइरस परिक्षणको नाममा जनता झुक्याएको खुलेको छ । केही समयअघि ओम्नी समूहले ल्याएको मेसिन विश्व स्वास्थ्य संगठनको मापदण्ड नपुगेको भन्दै सरकारले किन्न अस्वीकार गरेपछि सोही गुणस्तरहिन मेसीन प्रयोग गरेर ल्याव सञ्चालन गरेको खुलेको हो । नेपालमा कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि स्वास्थ्य सामग्री भित्र्याउन सरकारले ठेक्का दिएको ओम्नी समूहले गुणस्तरहिन सामान ल्याएको खुलेपछि ठेक्का तोडेर ओम्नीलाई कालोसूचीमा राखेको थियो ।
सोही समूहले उर्जामन्त्री बर्षमान पुनको सचिवालयलाई हात लिएर सरकारले फिर्ता गरेको गुणस्तरहिन मेसिन र सामानबाट विध ल्याव सञ्चालन गरेको काठमाडौंप्रेसले खुलासा गरेको छ । उक्त ल्यावमा जडान गरेको चिनियाँ कम्पनीको पीसीआर मेसिन र एक लाख थान रिएजेन्ट पनि गुणस्तरहिन भएको सरकारी टोलीको निश्कर्ष छ । विज्ञहरुका अनुसार सरकारले अस्वीकृत गरेको मेसिन र रिएजेन्ट प्रयोग गरेको विध ल्याबको विश्वासनीयतामा गम्भीर प्रश्न उठेको छ।
‘सरकारले गुणस्तर नपुगेको भनेर ओम्नी समूहले ल्याएको पीसीआर मेसिन र रिएजेन्ट अस्वीकृत गरेको हो,’ स्वास्थ्य मन्त्रालयका एक सहसचिवले बताएको भन्दै काठमाडौं प्रेस लेख्छ, ‘गुणस्तर नपुगको भन्दै सरकारले किन्न अस्वीकार गरेको मेसिन र रिएजेन्ट प्रयोग गरेर गरिएको पीसीआर परीक्षण ल्याब विश्वासिलो छैन।’
विध ल्याबमा ओम्नी समूहको मुख्य शेयर छ। ओम्नीका तुलहरि पौडेल, उर्जा मन्त्री वर्षामान पुन निकट विके भण्डारी, आईटी व्यवसायी किशोर पन्त र हिमालयन होटलका लगानीकर्ता नविन तुलाधार विध ल्याबमा शेयर होल्डर छन्। काठमाडौं प्रेसले ओम्नीका तुलाहरि पौडेलसँग सम्पर्क गर्दा उनी बोल्न चाहेनन्।
ओम्नी समूहले ल्याएको पीसीआर मेसिन र एक लाख थान रिएजेन्ट सरकारले नकिन्ने निर्णय गरेपछि उनीहरु उर्जामन्त्री वर्षमान पुनका सचिवालयमार्फत राजनीतिक पहुँच प्रयोग गर्दै अनुमति लिएर ल्याब खोलेका हुन् ।
कसरी नक्कली ?
विध ल्याबको नाममा ओम्नी समूहले सञ्चालन गरेको ल्याबले अहिले दुई वटा जिन भएको रिएजेन्ट प्रयोग गरिरहेको छ। तर सरकारी र अन्य अस्पतालका मलिकुलर ल्याबमा भने ३ वटा जिन भएको रिएजेन्ट प्रयोग हुँदै आएको छ। विश्व स्वास्थ्य संगठनले दुई जिन भएको रिएजेन्टले भाइरसलाई सतप्रतिशत ट्रेस नगर्न पनि सक्छ भनेर तीन जिनयुक्त रिएजेन्ट प्रयोग गर्न भनेको छ ।
विध ल्याबमा सीआर परीक्षण गरेका अधिकाँसको रिपोर्ट नेगेटिभ र त्यसको एउटै कारण दुई जिन भएको रिएजेन्टले भाइरस ट्रेस गर्न नसकेको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका प्राविधिकहरु बताउँछन् ।
विध ल्याबले असोज १० गते ३ सय ८० जनाको पीसीआर परीक्षण गरेकोमा एक जनाको पनि पोजेटिभ रिजल्ट आएको छैन। त्यस्तै, असोज ९ गते ७ सय ३१ जनाको पीसीआर परीक्षण गरेकोमा पनि टे«स हुन नसकेर सबैको नेगेटिभ रिपोर्ट आएको छ।
म्याद सकिन लागेका रिएजेण्टबाट परिक्षण
विध ल्याबले ल्याएका रिएजेण्ट आफूले ल्याव सञ्चालनका लागि होइन, सरकारलाई बेच्नका लागि हो । ति सबै सरकारले गुणस्तरहिन भन्दै किन्न अस्विकार गरेको थियो । त्यसपछि ल्याव खोलेको बिधले तिनै रिएजेण्टबाट परिक्षण गरिरहेको छ । त्यसमधये एक लाख रिएजेन्टको म्याद अर्को हप्ता सकिँदैछ। तर, मिति गुज्रिएका रिएजेन्ट पनि प्रयोग गर्ने गरी विधले अहिलेसम्म नयाँ रिएजेन्ट नमगाएको स्रोतको दाबी छ।
ल्याबको अनुभवै नभएकालाई रातारात पीसीआर परीक्षणको अनुमति
पीसीआर परीक्षण ल्याबको आधुनिक विधि हो। यसका लागि गुणस्तरयुक्त मेसिन र दक्ष जनशक्ति चाहिन्छ। ल्याबमा सामान्य पनि गल्ती भयो भने रिपोर्ट सही आउँदैन।
तर, मेडिकलमा कहिल्यै काम नगरेको ओम्नी समूहले सरकारसँगको सेटिङमा रातारात पीसीआर परीक्षणको अनुमति पाएको छ। स्रोतका अनुसार स्वास्थ्य मन्त्रालयका सहसचिव डा।गुणनिधि लोहोनीको केनेक्सनमा विध ल्याबले पीसीआर परीक्षणको अनुमति पाएको हो।
कतिपय वर्षोदेखि मेडिकल क्षेत्रमा काम गरेका अस्पतालहरुले समेत अहिलेसम्म पीसीआर परीक्षणको अनुमति पाएका छैनन्। तर ओम्नीको मुख्य लगानी रहेको विध ल्याबले भने कुनै अनुभवनै नभएपछि पीसीआर परीक्षणको अनुमति पाएको छ।
उर्जामन्त्रीलयबाट पठाइयाे ल्यावको एमडी
विध ल्यावमा लगानी गर्न उर्जामन्त्री वर्षमान पुनका सचिवालयबाट कर्मचारी भिमकान्त भण्डारीलाई पठाइएको छ । तर कम्पनीको एमडी बताउने भण्डारीले वास्तविक नाम लुकाएर छोटकरी नाम विके भण्डारीको नामबाट परिचय दिन्छन् ।
गुल्मीको मालिका गाउँपालिकाका बासिन्दा भण्डारी स्थानी विकास प्रशिक्षण प्रतिष्ठान अन्तर्गत ग्रामिण विकास प्रशिक्षण प्रतिष्ठान झपाको पाचौँ तहका कर्मचारी हुन् ।
सरकारी जागिरमा नाम निकालेपछि २०७३ असोज २० गते देखि १० दिनमात्र कार्यालयमा हाजिर भएर दँशैविदामा घर फर्केका थिए । दँशैपछि कार्यालयमा पुगेर स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानका लागि काज मिलाएर आएका उनी त्यसपछि ४ वर्ष आफ्नो कार्यालय फर्केनन् ।
स्थानीय विकासमन्त्रालय, अर्थमन्त्रालय, महिला बालबालिका तथा समाजकल्याण मन्त्रालयमा मन्त्रीको सचिवालयमा काजमा बसेका उनी २०७४ चैतदेखि उर्जामन्त्री वर्षमान पुनको सचिवालयमा थिए । कम्पनी दर्तादेखि आरडीटी किटको ब्यापार गर्दासम्म उर्जामन्त्रीको सचिवलायमा रहेका उनी गत असार १५ मा मात्रै स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानमा फिर्ता भएका थिए । तर उनी आफ्नो दरबन्दी भएको कार्यालयमा नगइ तालुक अड्डामा नै बसेका छन् ।
भण्डारीले २०७७ असार मसान्तसम्म ग्रामीण विकास प्रशिक्षण केन्द्र, झापाबाट तलब बुझेको ग्रामिण विकास प्रशिक्षण प्रतिष्ठान झापाका सूचना अधिकारी सुशेस भट्टराइले बताए । अहिले उनले जागिरबाट राजीनामा दिएको मौखिक जानकारी आफूले पाएको उनले बताए ।
सरकारी प्रयोगशाला ध्वस्त पारेर प्राविधिकलाई विधमा लगियो
सरकारी प्रयोगशाला राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुमा प्राविधकको अभावका कारण त्यहाँ सोचेजति संख्यामा पीसीआर परीक्षण गर्न नसकेको प्रयोगशालाकी प्रमुख डा।रुना झाले बताउँदै आएकी छन्।
तर राजनीतिक सेटिङ्मा त्यहाँका केही प्राविधिकलाई विध ल्याबमा काम गर्न पठाइएको छ । विध ल्याव खोल्ने तयारी भएपछि करारमा रहेका प्राविधिकहरुको करार सम्झौता नविकरण नगरेर विधमा पठाइएको प्रयोगशाला स्रोत बताउँछ ।
‘बढीभन्दा बढी पीसीआर परीक्षण गर्नुपर्ने र सबैभन्दा आधुनिक ल्याब भएकोले टेकु प्रयोगशालामा क्षमता अनुसार परिक्षण नहुँदा जनता झरी समेत नभनेर लाइनमा बस्नुपरेको छ’, ति प्राविधिक भन्छन्, ‘तर सरकारी प्रयोगशाला ध्वस्त पारेर सेटिङ्गमा यहाँका अनुभवि प्राविधिकलाई उता पठाइएको छ ।’