वीरगंज। वीरगंजस्थित नारायणी अस्पतालमा १९२ जनाको थ्रोट स्वाबलाई पिसिआर प्रविधिबाट परिक्षण गर्दा थप १७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।अस्पतालको पिसिआर ल्याबमा शनिबार पर्सा, बारा र रौतहटको विभिन्न स्थानबाट जम्मा गरेर ल्याइएको १९२ जनाको स्वाबलाई परिक्षण गर्दा पर्साका १३, बाराका ३ र रौतहटका १ जनामा संक्रमण पुष्टि भएको हो ।
नारायणी अस्पतालका प्रवक्ता एवम् वरिष्ठ चर्म रोग विशेषज्ञ डाक्टर अतुलेशकुमार चौरसियाले उपलब्ध गराएको जानकारी अनुसार पर्सामा संक्रमण पुष्टि भएकामध्ये अधिकतम ग्रामिण भेगका छन् ।जिल्लाको कालिकामाई गाउँपालिका वडा नम्बर ५ र ३ मा एक/एक जना, बिन्दबासिनी गाउँपालिका वडा नम्बर ४ मा दुई जना, जगरनाथपूर गाउँपालिका वडा नम्बर ४ मा दुई जना, बहुदरमाई नगरपालिका वडा नम्बर २ मा दुई जनामा संक्रमण पुष्टि भएको छ ।
त्यसैगरी वीरगंज महानगरपालिका वडा नम्बर ३२ मा चार जना, वडा नम्बर १६ र २५ मा एक/एक जना संक्रमित थपिएका छन् । वीरगंजस्थित नारायणी वयोदा अस्पतालमापनि एक जनामा संक्रमण पुष्टि भएको छ ।त्यसतै बारा जिल्लाको कलैया उपमहानगरपालिका वडा नम्बर २३ का एक जना, पर्सौनी गाउँपालिका वडा नम्बर ४ का एक जना र पथलैयाका एक जना संक्रमित रहेका छन् ।रौतहटमापनि एक जना संक्रमित थपिएको डाक्टर चौरसियाले बताए । थपिएका संक्रमितहरु १९ वर्षदेखि ६५ वर्ष उमेर समुहका छन् भने उनीहरुको सिटि भ्यालु २४ देखि ३० सम्म रहेको छ ।