खगेन्द्र बस्याल | नेपालमा कोरोना महामारीको संकेत देखिन थालेपछि २०७६ चैत ११ गतेदेखि देशभरि लकडाउन शुरु भयो ।मानिसहरु अस्पतालमा जान समेत अनिच्छुक देखिन थाले।जरुरी नपरि कोही कतै गएनन् ।जन्मस्थल बिर्सेकाहरु पनि सम्झेर आउन थाले।खानपिनको कारण समस्या पर्ला भन्ने ठानेर मदिरा सेवन,माछामासुको अधिक प्रयोग त हट्यो नैं चिल्लो ,पिरो एवम् अनावश्यक मसलाको प्रयोग भान्सामा हुन छाड्यो ।घर भित्र विभिन्न योगाभ्यास शुरु हुन थाल्यो ।
सवै खेतीपातीमा सक्रियता देखाएर नेपाल कृषि प्रधान देश रहेको पुनः सम्झाउन थाले।हरेक घरमा करेसावारि लोभलाग्दो देखिन थाल्यो ।कसैलाई पनि हिजोका दिनमा जस्तो खाली दिमाग सैतानको घर बनाउने फुर्सद भएन।
अनावश्यक कपडा ,गहना,मेकअपमा कसैको चासो रहेन।मानिसहरुमा घमण्डी पनमा पनि एक्कासी गिरावट आउन थाल्यो ।सकिनसकी बिवाह एवम् पुजाआजामा खर्च गर्ने गराउने पनि दुला भित्र पसे। उचित आहार र खेतीपातीमा सक्रियताका कारण उल्लेखनीय स्वास्थमा सुधार देखियो ।सवैको जीवन शैली एकनासको लयमा देखिन थाल्यो ।
सवैले आफु जन्मेहुर्केको ठाउँमा नैं स्वर्ग रहेको बिश्वास गर्न थाले।यो सवै छोटो समयमा सम्भव भएको देखेर बाह्र बर्षिया प्रभा अचम्म परि।उ जान्ने भए देखि आफ्नो परिवेशलाई गहिरिएर नियालेर हेरिरहेकि थिई।हरेक पीडाले नयाँ खुशी जन्माउने रहेछ ठानी ऊ।यसैले उसले आफ्नी आमालाई भनी “आमा ,यो कोरोना आतंक दस बर्ष अगाडि आइ दिएको भए यो स्वर्ग
जस्तो नेपाल अहिलेसम्म साँच्चिकै कति सुन्दर देखिन्थ्यो होला”
मणिग्राम -रुपन्देही
स्रोत -दिक्षा सुवेदीले विरगंज संजालको लागि संकलन गर्नुभएको छ ।