ठमाडौं । नेपाल र इजरायलबीच श्रम सम्झौता हुने भएको छ । मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले नेपाल र इजरायलबीच श्रम सम्झौता गर्ने निर्णय भएको परराष्ट्रमन्त्री एवम् सरकारका प्रवक्ता प्रदीप कुमार ज्ञवालीले बुधबार निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए ।
उनका अनुसार श्रम सम्झौता गर्नका लागि इजरायलका लागि नेपाली राजदूत अञ्जान शाक्यलाई जिम्मेवारी दिइएको छ । इजरायलसँग विशेषगरी केयर गिभरको कामका लागि श्रमिक पठाउन ‘जी टु जी’ लेभलमा श्रम सम्झौता हुन लागेको हो भने त्यसका लागि आवश्यक तयारी भइरहेको छ । मन्त्री ज्ञवालीका अनुसार श्रम सम्झौतापछि त्यहाँ पुग्ने नेपालीले इजरायली नागरिकले नै पाउने जति सेवा सुविधा पाउनेछन् ।
बैठकले बाढी पहिरोबाट बढी क्षति सिन्धुपाल्चोक र बागलुङलाई विपद् संकटग्रत क्षेत्र घोषणा गर्ने निर्णय भएको छ भने सो क्षेत्रमा विश्व बैंकबाट प्राप्त ५० मिलियन डलर लगानी गरेर पुनर्निर्माणको काम अघि बढाइने भएको छ ।यस्तै नेपाल–चीन संयुक्त कार्यदलको प्रथम वार्ता गर्न टोली र कार्यसूची स्वीकृति पनि बैठकले गरेको छ । यो वार्ता नेपाल र चीन बीचको व्यापार प्रवद्र्धन गर्न महत्वपूर्ण योगदान हुने विश्वास सरकारले लिएको छ ।
यस्तै हैटीमा हैजाका कारण भएको ठूलो क्षति र राहत पुर्याउनका लागि राष्ट्रसंघले स्थापना गरेको कोषका लागि ५ हजार डलर योगदान गर्ने निर्णय पनि बैठकले गरेको छ। यस्तै आधिकारिक ट्रेड युनियनको असोज २४ को लागि तोकिएको निर्वाचन स्थगित गरेर मंसिर २७ गते गर्ने निर्णय पनि बैठकले गरेको छ। कोरोनाका कारण उत्पन्न परिस्थितिका कारण निर्वाचन स्थगित गरिएको हो ।