वीरगंज | नेपाल सरकारले बंगलादेशसँग पैचोंमा लिन लागेको ५० हजार टन युरिया मल नेपाल ल्याउने जिम्मा पाएको कृषि सामग्री कम्पनी लिमिटेडले उक्त मल नेपाल ल्याउन शनिवार ठेक्का आह्वान गरेको छ ।
धानबालीका लागि युरिया मलको चरम अभाव भएपछि सरकारले बंगलादेशसँग मल पैंचो लिने प्रक्रिया अगाडि बढाएको थियो । ३ साताअघि प्रधानमन्त्री केपी शर्मा ओलीले बंगलादेशकी प्रधानमन्त्री शेख हसिनासँग यसबारेमा टेलिफोन संवाद गरेपछि बंगलादेशबाट मल ल्याउने प्रक्रियाले थप गति लिएको थियो ।
बिहीवारको मन्त्रिपरिषद् बैठकले बंगलादेशबाट मल ल्याउने जिम्मेवारी कृषि सामग्री कम्पनी लिमिटेडलाई दिएपछि मल नेपाल ल्याउन ठेक्का आह्वान गरिएको हो । मन्त्रिपरिषद् बैठकमा मल ल्याउने जिम्मेवारी कृषि सामग्री वा साल्ट ट्रेडिङ कसलाई दिने भन्ने बारेमा लामै बहस भएको थियो । कृषिमन्त्री घनश्याम भुसाल यो जिम्मेवारी कृषि सामग्रीलाई दिनुपर्ने पक्षमा उभिएपछि त्यसैअनुरूप निर्णय भएको हो ।
कृषि सामग्री कम्पनीका खरीद महाशाखा प्रमुख विष्णु पोखरेलका अनुसार बंगलादेशको चिटगावबाट मल नेपाल ल्याइँदै छ । ठेक्का आवेदन दिन ७ दिनको म्याद राखिएको छ भने ठेक्का सम्झौतालगायत सबै प्रक्रिया पूरा हुन करीब २५ दिन लाग्न सक्ने बताइएको छ ।
यसअनुसार पैंचो मल नेपाल आउन अझै करीब १ महीनाभन्दा बढी समय लाग्ने देखिएको छ । ठेक्का पाउने कम्पनीले नै बोरा छपाइ र मल प्याकेजिङलगायत काम गर्नुपर्ने शर्त राखिएको छ ।
कृषि मन्त्रालयका अनुसार बंगलादेशले आफूलाई आवश्यक पर्ने करीब १० लाख टन मल मौज्दात गरेको छ । त्यही मौज्दातबाटै उसले नेपाललाई मल उपलब्ध गराउँदै छ । यसरी ल्याइएको मल नेपालले पछि ग्लोबल टेन्डर गरी ८ महीनाभित्र बंगलादेशलाई फिर्ता गर्ने योजना कृषि मन्त्रालयको छ । मन्त्रालयका प्रवक्ता डा. हरिबहादुर केसीका अनुसार नेपालसम्म मल आयात गर्न अहिले मन्त्रालयले तीनओटै विकल्प (समुद्रीमार्ग, रेलमार्ग र थलमार्ग का बारेमा गृहकार्य गरिरहेको छ ।
‘जुन मार्गमार्फत ल्याउँदा सस्तो र छिटो हुन्छ, त्यही मार्ग प्रयोग गर्ने मन्त्रालयको योजना छ,’ उनले भने । यसअघि ५० हजार मेट्रिकटन युरिया मल आयात गर्ने ठेक्का पाएका शैलुङ इन्टरप्राइजेज र होनिको मल्टिपल कम्पनीले सम्झौताबमोजिम मल नल्याउँदा अहिले मुलुकभर युरिया मलको चरम अभाव छ ।
हाल कृषि सामग्री कम्पनीसँग युरिया मलको मौज्दात शून्य छ भने डीएपी र पोटास ३ हजार २ सय मेट्रिकटन मौज्दात रहेको छ । कम्पनीले थप ३० हजार मेट्रिक टन युरिया मलको टेन्डर भर्खरै आह्वान गरेको छ । साल्ट ट्रेडिङ कर्पोरेशनसँग भने अहिले युरिया १० हजार मेट्रिकटन, डीएपी ९ हजार मेट्रिकटन र पोटास ५ सय मेट्रिकटन मौज्दात छ ।
साल्ट ट्रेडिङले यसअघि ल्याउन थालेको ३२ हजार ५ सय मेट्रिकटन युरियामध्ये हालसम्म २७ हजार ५ सय मेट्रिकटन मल नेपाल आइपुगेको छ भने ५ हजार मेट्रिकटन आउन बाँकी नै छ । ‘अबको १० दिनमा यो पनि नेपाल आइपुग्छ,’ साल्ट ट्रेडिङका सहायक प्रबन्धक पंकज जोशीले भने । यसबाहेक साल्ट ट्रेडिङले चालू आर्थिक वर्षको बजेटबाट ३० हजार मेट्रिकटन थप युरिया आयातका लागि टेन्डर आह्वान गरेको छ । त्यस्तै, उसले ल्याउन लागेको २० हजार मेट्रिकटन डीएपी मलमध्ये ७ हजार ६ सय मेट्रिकटन कोलकाता आइपुगेको छ ।