वीरगंज । संविधान दिवसको अवसरमा देशभरका जेलबाट २ सय ८९ जना कैदीलाई बाँकी सजाय माफी मिनाहा गरेर जेलमुक्त गर्ने निर्णय गरिएको छ ।नेपाल सरकार (मन्त्रिपरिषद्) को सिफारिसअनुसार शनिवार (३ असोज) देखि लागु हुनेगरी राष्ट्रपति विद्यादेवी भण्डारीले २ सय ८९ जना कैदीको बाँकी कैद मिनाहा गर्ने निर्णय गरेकी हुन् ।
संविधानको धारा–२७६ फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन– ०७४ अनुसार सरकारको सिफारिसमा कैद मिनाहा गर्न सकिने कानुनी व्यवस्था छ ।
फौजदारी कसुर–०७४ को (कैद कट्टा) नियमावली–०७६ अनुसार मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट भुक्तान हुन बाँकी कैद मिनाहा गर्ने निर्णय भएको राष्ट्रपति कार्यालयका प्रवक्ता हरि प्रसाद दाहालले जानकारी दिएका छन् ।
प्रमुख जिल्ला अधिकारी र जेलरको सिफरिसका आधारमा हेमराज तुम्बाहम्फेसहितका कैदी शनिवारबाट जेलमुक्त हुने भएका छन् ।
५० प्रतिशत कैद भुक्तान गरेका र असल चालचलन भएका कैदीले मात्र माफि मिनाहा पाउँछन् । जेलर र प्रमुख जिल्ला अधिकारीको सिफारिसमा मन्त्रिपरिषद्ले राष्ट्रिय दिवस र दशैंमा असल चालचलन भएका र ५० प्रतिशत कैद भुक्तान गरेकालाई माफि मिनाहाको सिफारिस गर्न सक्ने कानुनी व्यवस्था छ ।