वीरगंज | पर्सा जिल्लाको स्थानीय प्रशासानले वीरगंज बजारमा रहेका विभिन्न तरकारी तथा फलफुल पसलहरुको अनुगमन गरेको छ ।बजार अनुगमनको क्रममा ग्राहक ठग्ने बीरगन्जको माईस्थानका तीन व्यापारी कारवाहीमा परेका छन् ।
प्रशासनको संयुक्त अनुगमन टोलीले आज बजार अनुगमनको क्रममा वीरगंज महानगरपालिका मिना बजारमा रहेको तीन तरकारी तथा फलफुल पसलका व्यापारीलाई कारवाही गरेको हो ।
कारवाहीमा पर्नेमा मिना बजारमा रहेको चन्द्रकिशोर ट्रेडस, शिव देवी ट्रेडर्स र माँ जगदम्बा फ्रुट सेन्टर रहेका छन् । तीनै फर्मका व्यापारीलाई क्रमस बीस हजार, बीस हजार र दश हजार तिराइएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ ।
उपभोक्ताहरुको गुनासोलाई मध्य नजर गर्दै आज वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय, जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय, पर्साको संयुक्त अनुगमन टोलीले अनुगमन गरेको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ ।
कारवाहीमा परेका तरकारी तथा फलफुलहरुलाई कालोबजारी तथा मूल्य वृद्धि नगरी बिक्री वितरण गर्ने भनी निर्देशन दिईएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ । अब आईन्दा त्यस्तो गरेको पाईकोमा कानून बमोजिम कारवाही हुने जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
जिल्ला प्रशासन कार्यालय पर्साले कोरोना महामारीको विषम परिस्थितीमा कही कतै कुनै वस्तुहरुको कालोबाजारी तथा मूल्य वृद्धि गरी बिक्री वितरण गरेको देख्नु भएमा आवश्यक प्रमाण सहित यस कार्यालयमा उजुरी मार्फत जानकारी गराउन अनुरोध गरेको छ ।