वीरगंज | स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निजी अस्पतालको छाता संस्थासँग १५ दिनका लागि एक हजार साधारण शय्यासहित २ सय आइसियु र १ सय थान भेन्टिलेटर सहयोग माग गरेको छ।
मन्त्रालयले उक्त शय्या र भेन्टिलेटर तथा आइसियुका लागि आवश्यक दक्ष जनशक्ति पनि उपलब्ध गराउन माग एशोसियसन अफ प्राइभेट हेल्थ इन्स्टच्युसन नेपाल (अफिन) का पदाधिकारीसँग माग गरेको हो।
मन्त्रालयको पदाधिकारी र अफिनका पदाधिकारीसँग भएको अनलाइन भिडियो मिटिङका क्रममा आगामि १५ दिनका लागि उक्त उपकरण तथा सामग्री र जनशक्तिको माग गरिएको अफिनका अध्यक्ष बसन्त चौधरीले जानकारी दिए।
‘आज अफिन र स्वास्थ्य मन्त्रालयबीच भएको दुइपक्षीय वार्तामा सरकारी पक्षबाट आगामी १५ दिनका लागि १००० साधारण शय्या, २०० आइसियु शय्या तथा १०० थान भेन्टिलेटर र त्यसका लागि आवश्यक दक्ष जनशक्ति माग भएको छ। अफिनले उक्त अनुरोधलाई अत्यन्त गम्भीरता साथ लिएको छ र आवश्यक व्यवस्था गरिने आश्वासन दिएको छ’ अध्यक्ष चौधरीले भने।
स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले छलफलमा प्रस्ताव भएको तर कुनै लिखित निर्णय भने नभएको जानकारी दिए। उनले अफिनले यो विषयलाई सकारात्मक रुपमा लिएको बताए।
कोरोना भाइरसको संक्रमित बढ्दै गएपछि देशभर संक्रमितको उपचारका लागि शय्याको अभाव भएको छ। यसका साथै पछिल्लो समय लक्षणसहितका संक्रमित बढ्दै गएकाले आइसियु र भेन्टिलेटरमा राखेर उपचार गर्नुपर्ने संक्रमितको संख्या पनि बढेको छ। देशभरका कोरोना अस्पतालले आइसियु र भेन्टिलेटर अभाव हुने बताउँदै आएपछि सरकारले निजी अस्पतालसँग सहयोग माग गरेको हो।