बीरगन्ज। पशु सेवा विभागले कुखुराको मासु र अन्डाबाट कोरोना भाइरस नसर्ने बरु यसले फाइदा पुर्याउने दाबी गरेको छ।
नेपालका सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा कुखुराको मासुमा कोरोना भाइरस भेटिएको भन्ने खबर प्रकाशन प्रसारण भएकाले जनमानसमा भ्रम पर्न गएको भन्दै विभागले विज्ञप्ति जारी गरी खण्डन गरेको हो।
पोल्ट्री व्यवसायमा असर गर्ने यस्ता भ्रामक समाचारको पछि नलाग्न पनि विभागले आग्रह गरेको छ।
कुखुराको मासु र अन्डाको नियमित सेवनले बरु कोरोना भाइरसविरुद्ध लड्न सक्ने रोग प्रतिरक्षा क्षमता बढाउने दाबी विभागले गरेको छ।
विभागले अहिलेसम्म विश्व स्वास्थ्य संगठन र विश्व पशु स्वास्थ्य संगठनको अनुसन्धानबाट कुनै जनावर र पन्छीबाट कोरोना सर्ने वैज्ञानिक आधार नपाइएको उल्लेख गरेको छ।