जनकपुरधाम : जनकपुर–जटही सडक खण्ड बिस्तारका क्रममा भत्काईएका घर र सडकले लिएको जग्गाको मुआब्जा नपाएको पिडितहरुले गुनासो गरेका छन् । निर्माणाधीन १३ किलोमिटर दुरीको उक्त सडक खण्डको अहिले गिरिजापथ नामाकरण गरिएको छ ।
रुपैठाका स्थानीय युवा अगुवा विनोद पासवानका अनुसार उक्त सडक विस्तारका क्रममा करिब २ सय ५० घर भत्काईएको थियो भने ४ देखी ५ धुर सम्म जग्गा सडकले मिचेको थियो ।
नम्बरी जग्गा भएकाहरुले मिचिएको जग्गा र भत्किएको घरको मुआब्जा र क्षतिपुर्ति पाए पनि गाउँब्लक जग्गामा बनेको घरको क्षतिपुर्ति र मुआब्जा अझै नपाएको पासवानले जानकारी दिए । पासवानले दिएको जानकारी अनुसार नम्बरी जग्गामा बनेको घरको प्रति स्क्वायर फिट ७ हजार देखि २५ हजार रुपैयाँको दरले क्षतिपुर्ति दिईएको छ भने जग्गाको प्रतिकठ्ठा २ लाख रुपैयाँको दरले मुआब्जा दिईएको छ ।
गाउँब्लकमा बनाईएको घर र जग्गाको क्षतिपुर्ति र मुआब्जा दिन भने सडक विभागले आनाकानी गरिरहेको पिडितहरुको गुनासो छ । पिडित कमलेश साह भन्छन् – सडक विभागका कर्मचारी आएर भत्किएको घरको फोटो खिचेर लगेका छन् तर क्षतिपुर्ति र मुआब्जा कहिले दिने हुन् थाहा छैन ।
साहको गाउँब्लकमा दर्ता भएको ४ धुर जग्गा र टालीले छाएको घर सडक निर्माणका क्रममा भत्काईएको थियो । करिव २ सय पिडितले अझै घर भत्काइएको क्षतिपुर्ति र मिचिएको जगाको मुआब्जा नपाएको बताईएको छ ।
देवपुरा , रुपैठा र गंगुलीमा सबै भन्दा बढि घर भन्काईएको थियो । जनकपुर जटही सडक खण्ड नेपाल भारत सिमा जोड्ने सडक हो । पहिला २२ फिट चौडाईको यस सडकलाई गिरिजापथ नामकरण गरेर ४ लेनको बनाईदै छ । र गिरिजापथको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ ।