वीरगंज। नेपाल तेक्वान्दो संघले आफ्ना १२ जना पदाधिकारीलाई बिदाइ गरेको छ । सातदोबाटोस्थित संघको केन्द्रीय कार्यालयमा सोमबार एक कार्यक्रमकाबीच केन्द्रीय कार्यसमितिमा रहेका १२ जना पदाधिकारी तथा सदस्यहरुलाई बिदाइ गरेको हो ।राष्ट्रिय खेलकुद विकास ऐन २०७७ कार्यान्वयनमा आएसँगै राखेपको कर्मचारीले कुनै पनि संघमा बस्न नपाउने प्रावधान रहेपछि तेक्वान्दोका १२ पदाधिकारीले संघबाट राजीनामा दिएका थिए ।
उक्त ऐनको सम्मान र पालना गर्दै आ-आफ्नो पदबाट राजीनामा दिएपछि राजीनामा स्वीकृती गर्दै संघले बिदाइ गरेको जनाएको छ । नेपाल तेक्वान्दो संघका महासचिव दीपराज गुरुङ्ले सबै पदाधिकारीहरुलाई तेक्वान्दो खेलको विकास र संस्थागत हितका लागी पुर्याएको योगदानका लागी धन्यवाद दिए ।
उनले आफ्ना संघका सदस्यलाई बिदाइ गर्नुपर्दा आफुलाई दु:ख लागेको बताए । प्रशिक्षकहरुको योग्यता र क्षमतालाई संघले उच्च सम्मान गर्ने र आगामी दिनमा सबै मिलेर तेक्वान्दो खेल र संस्थाको विकासका लागी सहयोग पुर्याउन आग्रह समेत गरे । संघबाट मुख्य प्रशिक्षक नविन कुमार श्रेष्ठ, ओलम्पियन दिपक विष्ट र संगिना वैद्यलगायतले राजीनामा दिएका थिए ।