पाथीभरा गोल्डकप : आयोजकलाई हराउँदै मोरङ क्वाटरफाइनलमा
वीरगंज संजाल
Aug 17, 2019, 6:37 am
४२०५
ताप्लेजुङ : बेलबारी फुटबल क्लब मोरङ ताप्लेजुङमा जारी चौथो पाथीभरा गोल्डकपको क्वाटरफाइनलमा प्रवेश गरेको छ। शुक्रबार भएको खेलमा मोरङले आयोजक ताप्लेजुङ–११ लाई टाइब्रेकर हराउँदै क्वाटरफाइनलमा स्थान बनाएको हो।
निर्धारित समयको खेल बराबरीमा सकिएपछि खेलको निर्णय टाइब्रेकरबाट गरिएको थियो। जसमा, मोरङले घरेलु टोलीविरुद्ध ५–४ गोलको जित निकाल्यो। मोरङका तर्फबाट पृथ्वी चौधरी, विवेक थापामगर, मौसम सुब्बा, सन्जु श्रेष्ठ र शंकर राईले गोल गरे।
ताप्लेजुङका लागि क्रिस राई, सन्तोष लिम्बु, मनिराज लिम्बू र सुशिल लिम्बूले गोल गरे भने विकास शेर्पा गोल गर्न चुकेका थिए। खेलको ‘म्यान अफ दि म्याच’ मोरङका सुर्य श्रेष्ठ घोषित भए।
प्रतियोगिताअन्तर्गत शनिबार रेड हर्ष इलाम र फिदिम स्पोर्टिङ क्लब पाँचथरबीच हुनेछ। आगामी भदौ ६ गतेसम्म चल्ने प्रतियोगितामा नेपालको पाँच तथा भारतको एउटा टोली सहभागि छन्।