

वीरगंज | दक्षिणी गाजास्थित नासिर अस्पतालको एउटा भवनमा इजरायलले गरेको हवाई आक्रमणमा कम्तीमा ६ जनाको मृत्यु भएको छ।
हमासको नियन्त्रणमा रहेको नागरिक सुरक्षा निकायका एक अधिकारीले बीबीसीलाई बताएअनुसार उक्त आक्रमणमा २० जना घाइते भएका छन्।



प्रत्यक्षदर्शीहरूका अनुसार केही समयका लागि उक्त क्षेत्रको आकाशमा देखिएको लडाकु विमानबाट प्रहार गरिएको क्षेप्यास्त्र अस्पतालको सर्जरी वार्ड र सघन उपचार कक्ष (आईसीयू) रहेको भवनमा खसेको थियो।
बिहीबार बिहान सबेरै भएको उक्त आक्रमणमा मृत्यु हुनेहरूमध्ये एक जना शल्यचिकित्सक (सर्जन) पनि रहेको बीबीसीले उल्लेख गरेको छ। इजरायली सेनाले हालसम्म यसबारे कुनै प्रतिक्रिया दिएको छैन।
नासिर अस्पताल दक्षिणी गाजाको सबैभन्दा ठूलो अस्पताल हो। सन् २०२५ को अगस्टमा यहाँ इजरायलले गरेको दोहोरो आक्रमणमा पत्रकार तथा स्वास्थ्यकर्मीसहित कम्तीमा २० जनाको मृत्यु भएको थियो।
गत वर्ष अक्टोबरमा युद्धविराम सम्झौता भए पनि गाजामा इजरायली आक्रमण जारी छन्। हमासद्वारा सञ्चालित गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार त्यसयता १ हजार ६०० भन्दा बढी मानिसको मृत्यु भइसकेको छ। संयुक्त राष्ट्रसंघले यस मन्त्रालयले सार्वजनिक गरेका तथ्यांकलाई विश्वसनीय मान्दै आएको छ। इजरायल र हमासले एकअर्कामाथि युद्धविराम उल्लंघन गरेको आरोप लगाउँदै आएका छन्।


