एजेन्सी । काम गर्दा होस् या खालि बस्दा, तर लामो समय हलचल नगरि बसिरहनु शरीरका लागि राम्रो होइन भनेर स्वास्थ्यकर्मीहरुले धेरैपटक भनिसकेका छन् । स्वास्थ्यलाई हानि पुर्याउँछ भनेरै उनीहरुले कम्प्युटरमा बसेर दिनभर काम गर्ने कर्मचारीहरुलाई समय समयमा हिँडडुल गर्न सुझाव दिने गरेका छन् । र हालै गरिएको एक अध्ययनले यो विषयलाई अझ गम्भीरतापूर्वक लिनुपर्ने संकेत दिएको छ । गत बिहीबार जामा ओन्कोलोजीमा प्रकाशित नयाँ वैज्ञानिक रिसर्चका अनुसार एकदम धेरै बसिरहने गर्नाले क्यान्सरको जोखिम उल्लेखनीय रुपमा बढाइदिने गर्दछ । युनिभर्सिटी अफ टेक्ससको ‘एमडी एन्डर्सन क्यान्सर सेन्टर’ की प्रोफेसर डाक्टर सुसनका अनुसार हलचल नगर्नु र क्यान्सरबाट हुने मृत्यु बीच स्पष्ट रुपमा बलियो सम्बन्ध प्रस्तुत गर्न सफल यो पहिलो अनुसन्धान हो ।
तर यसैमा हामीले ३० मिनेटको बसाइँलाई हलुका, मध्यम वा कडा शारीरिक गतिविधिले प्रतिस्थापन गर्न सक्यौँ भने चाहिँ त्यस प्रकारको जोखिम कम गर्न सकिने सुसनले थप बताएकी हुन् । उनले भनेकी छन्, “यो खोजले के देखाउँछ भने स्वस्थ रहन थोरै बस्ने र धेरै हलचल गर्न महत्वपूर्ण छ । ”यस अध्ययनका लागि २००९ देखि २०१३ सम्म ८ हजार मानिसहरुलाई सातै दिन नियमित ट्रयाकिङ डिभाइस लगाउन भनिएको थियो जसले मान्छे कति घण्टा हिँड्छ भन्ने डाटा संकलन गर्दछ । अध्ययनको सुरुवातमा कुनै पनि सहभागीलाई क्यान्सर भएको थिएन । यी सबै सहभागीहरु ‘रिगार्डस’ नामक ठूुलो स्तरको अध्ययनका हिस्सा थिए । यस अन्र्तगत ४५ कटेका तीस हजार बढी अमेरिकी नागरिकहरुलाई छनोट गरिएको थियो जसलाई नेस्नल इन्सटिटीउट अफ हेल्थले प्रायोजन गरेको हो ।
यसरी पाँच वर्षको लगातार अध्ययनपछि वैज्ञानिकहरुले शरीर धेरै हलचल नगर्ने र बसिरहनेहरु, हिँडडुल गरिरहनेको तुलनामा क्यान्सरबाट मृत्यु हुने खतरा ८२ प्रतिशत बढी रहेको पत्ता लगाएका हुन् । यसमा सबै उमेर, लिङ्ग र रोगको अवस्थामा यो लागू हुने पाइएको छ । यस अगाडिका रिसर्चहरुले पनि क्यान्सरबाट हुने ५० प्रतिशत मृत्युलाई स्वस्थ जीवनशैली जस्तै राम्रो डायट, एक्सरसाइज र धुम्रपान रहित जीवन मार्फत रोकथाम गर्न सकिने देखाइसकेको छ । तर बसिरहनु र क्यान्सरबीचको सम्बन्धका बारेमा भने उल्लेखनीय डाटा प्राप्त भएको थिएन । यस्तोमा यो रिसर्चका क्रममा चाहिँ सहभागीहरुले फिटनेस ट्रयाकिङ डिभाइस लगाएको हुँदा वैज्ञानिकहरुले उचित रुपमा एक्सरसाइजको प्रभावबारे राम्ररी अनुसन्धान गर्न पाएका हुन् ।
उनीहरुका अनुसार मान्छेले तीस मिनेटको बसाइँलाई हल्का हिँडडुल गर्नु जस्तो सामान्य शारीरिक गतिविधिले प्रतिस्थापन गर्दा पनि क्यान्सरको जोखिम ८ प्रतिशतले कम गर्न सक्छ । डाक्टर सुसन भन्छिन्, “यसकारण नै मेरा बुवाआमासँगको कुराकानी सधैँ शारीरिक व्यायामबाट सुरु हुने गरेको छ, कि उहाँहरुसँग किन एक्सरसाइजका लागि समय छैन । म उहाँहरुलाई हरेक दिन, प्रति घण्टा कम्तीमा पनि पाँच मिनेट उभिने गर्न वा लिफ्टको सट्टा भर्याङको प्रयोग गर्न भन्ने गर्दछु । सुन्दा खेरि यो केही होइन जस्तो लाग्न सक्छ तर वास्तवमा यति गर्नुले पनि क्यान्सर विरुद्ध धेरै फाइदा पुर्याइरहेको हुन्छ ।”
अझ मध्यम किसिमको शारीरिक व्यायम गर्नुले त क्यान्सरको खतरालाई ३१ प्रतिशतले कम गरि झन धेरै लाभ गराउँछ । मध्यम स्तरको व्यायाम अन्तर्गत, साइकल चलाउनु, छिटोछिटो हिँड्नु, पानीमा एरोबिक्स गर्नु, नाच्नु, टेनिसलगायत खेल खेल्नु आदि रहेका छन् । यसरी दैनिक केबल ३० मिनेटको शारीरिक हलचलले पनि हामीलाई क्यान्सरबाट हुने मृत्युबाट जोगाउन सक्ने डाक्टर सुसन बताइन् । सीएनएन