डडेल्धुरा | सुदूरपश्चिममा बुधबार ८ जना कोरोना संक्रमित थपिएका छन्। धनगढीस्थित कोरोना परीक्षण प्रयोगशालामा कोरोना परीक्षण गर्दा यहाँका थप ८ जनामा कोरोना पुष्टि भएको हो। बुधबार दिउँसो पाँच जना र साँझ थप तीन जनामा पुष्टि भएको हो। योसँगै सुदूरपश्चिममा संक्रमितको संख्या ८१ पुगेको छ।
धनगढीमा गरिएको परीक्षणमा डोटीका थप तीन जनामा कोरोना पुष्टि भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए। उनका अनुसार पूर्वीचौकी गाउँपालिका ४ की ४५ वर्षीय महिला, २७ वर्षीय पुरुष र वडा नम्बर ७ का २२ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको छ।
बुधबार दिउँसो पूर्वीचौकी गाउँपालिका ४ का २२ वर्षीय र पूर्वीचौकी गाउँपालिका ७ का २५ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको थियो भने धनगढी उप–महानगरपालिका ५ का ५१ वर्षीय पुरुष, गौरीगंगा नगरपालिकाका २० र २५ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको थियो। यसअघि सुदूरपश्चिममा मंगलबार एकै दिन थप २७ जनामा कोरोना पुष्टि भएको थियो।
धनगढीस्थित कोरोना परीक्षण प्रयोगशालामा १८ र सुर्खेतको प्रयोगशालामा ९ जना गरी २७ जनामा कोरोना पुष्टि भएको थियो। धनगढीमा गरिएको परीक्षणमा कैलालीका १० र कञ्चनपुरका ८ जनामा कोरोना पुष्टि भएको थियो। कैलालीको टीकापुर नगरपालिकाको कर्णाली मावि क्वारेन्टाइनमा रहेका २०, ३५ र ६३ वर्षीय पुरुष र १८ वर्षीया युवतीमा कोरोना पुष्टि भएको थियो।
धनगढी उप–महानगरपालिका ३ त्रिभुवन माविको क्वारेन्टाइनमा रहेका ३२ वर्षीय पुरुष, गौरीगंगा नगरपालिकाको कालिका माविको क्वारेन्टानमा रहेका १९, २०, २४, २८ र ३२ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको थियो। यस्तै कञ्चनपुरको पुनरवास नगरपालिकाका ३३, ३५, ३६ र ५२ वर्षीय पुरुष, लालझाडी गाउँपालिकाका ३३ वर्षीय पुरुष, कञ्चनपुरको आइविआरडीमा रहेको क्वारेन्टाइनमा रहेका २८ र ३० वर्षीय पुरुष र महाकाली अस्पतालमा रहेका ५० वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको थियो।
यस्तै सुर्खेतमा गरिएको परीक्षणमा अछामको मेल्लेख गाउँपालिकाका दुई महिलासहित ८ जना र मंगलसैन नगरपालिकाका एक गरी नौ जनामा कोरोना पुष्टि भएको थियो। अछामकै चौरपाटी गाउँपालिकाका एक जनामा सोमाबर साँझ मात्रै सुर्खेतमा गरिएको परीक्षणमा कोरोना पुष्टि भएको थियो।
सुदूरपश्चिमका ८१ जना संक्रमित मध्ये ७८ जना प्रदेशभित्रै रहेका छन् भने बझाङ र बाजुराका एक–एक संक्रमितको भने कर्णाली प्रदेशमा उपचार भइरहेको छ। यहाँका एकजना संक्रमितको मृत्यु भइसकेको छ भने ७ जना प्रदेशभित्रबाटै निको भएर घर फर्किसकेका छन्।