सुर्खेत | भारतको गुजरातबाट मंगलबार वीरेन्द्रनगर पुगेर पनि उपचारको अभावमा अकालमै मृत्यु भएका युवाको रिपोर्ट कोराना नेगटिभ देखिएको छ। चिङगाड ५ सुर्खेतका युवा वीरेन्द्र रोकायको मंगलबार राति मृत्यु भएको थियो।
उनको मृत्यु भएपछि कोरोनाबाट हो कि भन्ने आशंका गरिए पनि उनको स्वाब जाँच्दा रिर्पोट नेगेटिभ आएको कर्णाली प्रदेश अस्पताल निर्देशक डा. डम्बर खड्काले जानकारी दिए। मृतक हिजो मात्रै रुपैडियाबाट आएका थिए।
‘हामीले मृतक रोकायाको स्वाब जाँच गर्न प्रयोगशालामा पठाएका थियौं’ डा. खड्काले भने, ‘उनको मृत्यु बाथरोगका कारणले भएको पुष्टि भएको छ, कोरोना संक्रमण भएको देखिएन।’ मृतकका आफन्तले भने अस्पतालको लापरबाहीका कारण बिरामीले ज्यान गुमाउनुपरेको आरोप लगाएका छन्।