सबैलाई अपग्रेडिङ्ग गरिने -कुनै पनि पाठ्यपुस्तक परिवर्तन नगर्ने प्याब्सन पर्साको निर्णय
वीरगंज संजाल
२४ बैशाख २०७७, बुधबार २१:१३
३२२९
बीरगन्ज | निजी तथा आवसीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) पर्साले यस शैक्षिक सत्रका लागि कुनै पनि पाठ्यपुस्तक परिवर्तन नगर्ने निर्णय गरेको छ । प्याब्सन पर्साको आज बसेको बैठकले यस्तो निर्णय गरेको अध्यक्ष डा. हरिशंकर साहले जानकारी दिनुभयो ।
“महामारीको बेला लकडाउन जारी छ, कहिलेसम्म जारी रहने हो, कुनै ठेगान छैन” अध्यक्ष साहले भने “ आर्थिक रुपले थलिएका अभिभावकलाई पर्ने सक्ने थप आर्थिक भारलाई मध्यनजर गर्दै यस्तो निर्णय गरेका हौं ।” कोरोना संक्रमणको कारण उत्पन्न आर्थिक संकट समेतलाई मध्यनजर गर्दै यस्तो निर्णय गरिएको अध्यक्ष डा. साहको भनाई छ ।
आज भएको निर्णय अनुसार गत शैक्षिक सत्रकै पाठ्यपुस्तकलाई नै नयाँ सत्रमा लागु गर्न मातहतका सबै विद्यालयहरुलाई निर्देशन दिइएको साहले जानकारी दिए । उनले भने “नर्सरीदेखि कक्षा १० सम्मको कुनै पनि पाठ्यपुस्तक परिवर्तन नगर्ने निर्णय भएको छ, निर्णय अटेर गरी कुनै विद्यालयले विपरित कार्य गर्छ भने कारवाही गर्र्छाैं ।”
साथै, सोही बैठकले परिक्षा हुन बाँकी रहेको नर्सरीदेखि कक्षा सातसम्मका सबै विद्यार्थीहरुलाई अपग्रेडिङ्ग गर्ने पनि निर्णय गरेको छ । प्याब्सन पर्साका अध्यक्ष डा. साहले परिक्षा बाँकी रहेका विषयमा विद्यार्थीले यसअघि लिएका परिक्षामा प्राप्त गरेको अंकको आधारमा अंक दिने निर्णय भएको बताउनुभयो ।
यसै निर्णय अनुसार आगामी बैशाख २६ गते सबै विद्यालयहरुलाई विद्यार्थीहरु अपग्रेडिङ्ग गरिएकोबारे डिजिटल प्रविधि वा फोन मार्फत जानकारी सबै विद्यालयहरुलाई निर्देशन दिएको अध्यक्ष साहले बताउनुभयो ।
तर अभिभावकहरुले आफ्ना विद्यार्थीहरुले नतिजा अर्थात मार्कसिट वा ग्रेडसिट भने विद्यालय खुलेपछि मात्र बुझ्न सक्ने अध्यक्ष डा. साहले प्रस्ट पारे ।
यसैगरी, विषम परिस्थितिमा पनि विद्यार्थी शिक्षाबाट बन्चित नहुन् भन्ने भाव राख्दै प्याब्सन पर्साको पहलमा टीभी बीरगन्जमा कक्षा सन्चालन गरिरहेको अध्यक्ष डा. साहले बताए । हरेक दिन बिहान ११ बजे साँझ ४ बजेसम्म नर्सरीदेखि कक्षा १० सम्मका विद्यार्थीका लागि कक्षा सन्चालन भइरहेकाले लकडाउनभर यसको लाभ उठाउन अभिभावकवर्गलाई अध्यक्ष डा. साहले आग्रह गर्नुभयो ।