सांसदद्वारा स्वास्थ्यकर्मी र सञ्चारकर्मीलाई स्वास्थ्य सामाग्री प्रदान
वीरगंज संजाल
२४ बैशाख २०७७, बुधबार १८:५९
२४३९
वीरगन्ज | पर्सा क्षेत्र नम्बर १ का सांसद प्रदीप यादवले आफ्नो निर्वाचन क्षेत्रका सरकारी स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मी र सञ्चारकर्मीलाई कोरोनाका महामारीबाट जोगिन स्वास्थ्य उपकरण र सामाग्री प्रदान गरेका छन् । निर्वाचन क्षेत्र नम्बर १ मा रहेका वीरगन्ज महानगरका १९ वटा स्वास्थ्य चौकीहरुमा बुधबार सांसद यादवले पीपीइ सेट, थर्मल गन, एन नाइन्टी फाइभ मास्क, सेनेटाइजर र ग्लोब्स प्रदान गरेका हुन् ।
बुधबार नै सांसद यादवले वीरगन्जमा कार्यरत सञ्चारकर्मीलाई पनि एन नाइन्टी फाइभ मास्क, सेनिटाइजर र ग्लोब्स वितरण गरेका छन् । वीरगन्जको घण्टाघर चोकमा बोलाएर ५० भन्दा बढी सञ्चारकर्मीलाई यादवले ती सामान वितरण गरेका हुन् ।
त्यस अवसरमा उनले नेपाल पत्रकार महासंघ पर्सा शाखालाई थर्मल गन एक थान, आधा लिटर सेनेटाइजर, ग्लोब्स, मास्क सहितको सामाग्री महासंघ पर्साका अध्यक्ष श्याम बन्जारालाई प्रदान गरे । संसद सचिवालयबाट प्राप्त आफ्नो तलबबाट ती सामाग्री खरद गरी स्वास्थ्यकर्मी र सञ्चारकर्मीलाई प्रदान गरेको सांसद यादवले बताए ।
कोरोनाको महामारीमा ज्यान जोखिममा राखेर काम गरिरहेका स्वास्थ्यकर्मी र जनतालाई सुचित गराइरहेका सञ्चारकर्मीको आत्मबल बढाउन आफूहरुले स्वास्थ्य सामाग्री प्रदान गरेको उनको भनाइ छ । उनले भने, ‘कोरोनाको जोखिममा पनि स्वास्थ्यकर्मी र सञ्चारकर्मी ज्यान हत्केलामा राखेर काम गरिरहेका छन्। उनीहरुलाई प्रोत्साहित गर्ने जिम्मेवारी मेरो पनि हो भनेर सकेको जति सहयोग गरेको हुँ ।’
त्यस अवसरमा नेपाल पत्रकार महासंघका प्रदेश २ अध्यक्ष दिपेन्द्र चौहान , पर्सा शाखा अध्यक्ष श्याम बन्जारा, पूर्वअध्यक्ष अशोक तिवारी लगायतको पनि उपस्थिति रहेको थियो । anppurnapost