भारतीय क्वारेन्टाइनमा नेपालीलाई ‘एक छाक खाना र दूषित पानी’
वीरगंज संजाल
२२ बैशाख २०७७, सोमबार १५:१९
२८३३
बझाङ | थलारा गाउँपालिकाका ९३ जना ४० दिनदेखि भारत, रामपुरको क्वारेन्टाइनमा छन् ।आफूहरूलाई एक छाक मात्र खाना दिइएको र दूषित पानी पिउनुपरेको उनीहरूको गुनासो छ ।
लकडाउनका कारण भारतको रामपुरमा एक महिनादेखि रोकिएका थलारा गाउँपालिकाका बासिन्दा ।
भारतका विभिन्न सहरबाट घर आउन लागेका नेपालीलाई स्थानीय प्रशासनले उत्तरप्रदेशको रामपुरमा रोकेको थियो । उनीहरूलाई त्यहाँ एक सार्वजनिक भवनमा बनाइएको क्वारेन्टाइनमा राखिएको छ ।
‘बाथरुममा आउने पहेँलो पानी पिउँदा सबैजसो बिरामी परेका छौं । खाना पनि दिनको एक पटक मात्र दिने गरेका छन्,’ भरत थापाले कान्तिपुरसँग भने, ‘सुत्केरी महिला, बूढाबूढी र बच्चाबच्ची पनि सँगै छन् । धेरै समस्या भइसक्यो । उद्धारको पहल गरिदिनुपर्यो ।’ उनले नेपालमा गएर जति दिन पनि क्वारेन्टाइनमा बस्न तयार रहेको बताए । थापाका अनुसार खानाका रूपमा दैनिक एकपटक तेल नखारिएको पुरी–तरकारी मात्र दिने गरिएको छ । त्यहाँ १३ महिला, २० बालबालिका, ४ वृद्धवृद्धा र ५६ जना अन्य पुरुष छन् ।
क्वारेन्टाइनमै दुई साताअघि एक महिला सुत्केरी भएको र अझै दुई जना सुत्केरी हुने दिन नजिक आइरहेको थापाले बताए । उनीहरू सबैलाई ठूलो हलको भुइँमा कोचाकोच गरेर सुताउने गरिएको छ । सिमेन्टको भुइँमा पातलो कपडा ओछ्याएर सुत्नुपर्दा चिसोले सताएको छ ।
क्वारेन्टाइनमा कतिपयलाई मानसिक समस्यासमेत देखिन थालेको त्यहाँ रहेका नेपालीले बताएका छन् । खाना र पानी अभावमा क्वारेन्टाइनमा बसेकाहरूको बिजोग भएको कुरा सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्ट, बझाङका सांसद, जनप्रतिनिधि र अन्य स्थानीय नेतालाई जानकारी गराइसके पनि कसैले उद्धारको पहल नगरेको राघब बानियाँले बताए । ‘सुत्केरी महिला, केटाकेटी र बूढाबूढीको हालत देखिनसक्नु छ । बिरामीले औषधि पनि पाएका छैनन्,’ उनले भने ‘नेताहरूले उद्धारका लागि कोसिस गर्छौं भनेका थिए । अहिले त फोन उठाउन पनि छोडिसके ।’
त्यहाँ खटिएका प्रहरीलाई समस्या सुनाउँदा ‘तिम्रो सरकारले नछोड्नू भनेकाले यता राखेका हौं, क्वारेन्टाइनमा यस्तै हो, राम्रो जे छ त्यसैमा चित्त बुझाऊ’ भनेर हपार्ने गरेको उनीहरूले बताए ।
यता बझाङकी प्रतिनिधिसभा सदस्य आशाकुमारी विकले रामपुरमा अलपत्र नेपालीको उद्धारका लागि आफूले संघीय सरकारसँग पहल गरिरहे पनि सकारात्मक जवाफ नआएको बताइन् । ‘उहाँहरूको अवस्था जानकारी पाइसकेपछि हामीले यो कुरा स्वास्थ्यमन्त्री समक्ष राख्यौं । अरू नेताहरूलाई पनि उद्धारको पहल गर्न भनेका छौं तर कतैबाट सकारात्मक जवाफ आएन,’ उनले भनिन् ।
थलारा गाउँपालिका अध्यक्ष भुवनेश्वर उपाध्यायले आफूहरू संघीय सरकारको आदेश कुरिरहेको र अनुमति पाउनासाथ उद्धारका लागि जाने तयारीमा रहेको बताए । ‘हामीले लागि गाडी समेत तयारी अवस्थामा राखेका छौं । माथिबाट आदेश आउनासाथ जान्छौं,’ उनले भने ।
यद्यपि केही दिनअघि दार्चुलाको धार्चुला र झुलाघाट नाकामा रहेकाहरूको उद्धार संघीय सरकारको अनुमतिबेगर नै भएको बताउँदै बझाङका संविधानसभा सदस्य अफिलाल ओखेडाले गाउँपालिकाले आफ्ना अलपत्र परेका नागरिकको उद्धारमा चासो नदेखाएको आरोप लगाए । उनले भने, ‘अध्यक्षले चाहे जतिखेर पनि उद्धार सम्भव छ । कञ्चनपुरको प्रमुख जिल्ला अधिकारीसँग समन्वय गरेर आफ्ना नागरिक ल्याउन सकिन्छ । किन केन्द्र सरकारको निर्देशन कुर्नुपर्यो ?,’ उनले भने । उत्तर प्रदेशको रामपुर कञ्चनपुरको बनवासा नाकाबाट १ सय ४२ किलोमिटर टाढा छ ।ekantipur