काठमाडौं | सरकारले कोभिड-१९ संक्रमण देखिएका कैलालीसहित २९ जिल्लालाई रेड जोनमा राखेको छ ।
लकडाउन जारी राख्ने कि आंशिक खोल्ने भन्ने विषयमा सुरक्षा निकायले तयार पारी समिति र गृह मन्त्रालयमा बुझाएको प्रतिवेदनमा संक्रमण जोखिमका आधारमा उच्च जोखिम क्षेत्रलाई रातो, आंशिक जोखिम क्षेत्रलाई पहेंलो र न्यून जोखिम क्षेत्रलाई हरियो गरी ३ क्षेत्रमा ७७ जिल्लालाई छुट्याइएको छ ।
स्रोतका अनुसार उक्त प्रतिवेदन सुझावमा २९ जिल्लालाई रातो, २८ जिल्लालाई पहेंलो र २० जिल्लालाई हरियो क्षेत्रमा छुट्याइएको छ । भारतसँग सिमा जोडिएका सुदूरपश्चिमका कैलाली, कञ्चनपुर, दार्चुला र बैतडीलाई रेड जोनमा राखिएको छ । सरकारले थप १५ दिनसम्म लकडाउन लम्ब्याउने र अन्य जिल्लामा आंशिक खोल्ने गरी आन्तरिक छलफल अगाडि बढाएको छ ।
कोभिड-१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिमा सुरक्षा निकायले पेस गरेको रणनीतिक राय-सुझावमा यस्तो प्रस्ताव समेटिएको छ । रातो क्षेत्रमा पर्ने जिल्लाभित्र रहेका मुख्य संक्रमित स्थानलाई हट स्पट तोकेर पूर्ण लकडाउन पालना गर्ने र त्यस्ता हट स्पटलाई पूर्ण रूपमा सिलबन्दी गर्नुपर्ने उल्लेख छ ।
पहेंलो क्षेत्रमा पर्ने जिल्लामा आंशिक लकडाउन जारी राख्ने तर रातो क्षेत्रमा पर्ने जिल्लाबाट ती जिल्लामा प्रवेश निषेध गर्नुपर्ने सुझाव दिइएको छ ।