वीरगन्ज | बुधबार कोरोना संक्रमण पुष्टि भएका तीन संक्रमितलाई पनि उपचारका लागि वीरगन्जको नारायणी अस्पतालमा राखिएको छ। बाराको २ जनालाई सिमरास्थित अस्थायी कोरोना उपचार केन्द्रबाट र वीरगन्ज-२ छपकैयाका संक्रमितलाई भने सिद्धार्थ माविको क्वारेन्टाइनबाट आइतबार अपरान्ह प्रहरीले एम्बुलेन्समार्फत नारायणी अस्पतालमा ल्याएको हो।
आइतबार वीरगन्जमा भेटिएका दुई संक्रमितको ट्राभल हिष्ट्री लिएर कन्ट्याक्ट ट्रेसिङ गर्ने क्रममा उनीहरुको सम्पर्कमा रहेको खुलेपछि आइतबार नै प्रहरीले सिम्रौनगढका संक्रमितलाई इनर्वा सिराको मस्जिदबाट र जितपुर सिमरा ७ का संक्रमितलाई उनको घरबाटै नियन्त्रणमा लिएर सिमराको अस्थायी कोरोना उपचार केन्द्रको आइसोलेसनमा राखेको थियो। वीरगन्ज-२ छपकैयाका संक्रमितलाई पनि आइतबारदेखि नै वीरगन्जको सिद्धार्थ माविको क्वारेन्टाइनमा राखिएको थियो।
सिम्रौनगढका संक्रमित घर सिम्रौनगढमा भएपनि उनी लामो समयदेखि जितपुर सिमरा-१९ स्थित इनर्वासीराको मस्जिदमा मुस्लिम धर्म गुरुको रुपमा बस्दै आएका थिए। बुधबार नारायणी अस्पतालमा ल्याइएका तीनै जना संक्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालका मेसु उपाध्यायले जानकारी दिए। हाल नारायणी अस्पतालमा उपचाररत संक्रमितको संख्या आठ पुगेको छ।रासस