कोरोना भाइरसबाट विश्वमा संक्रमितको संख्या ३० लाख नाघ्यो, दुई लाख ११ हजारको मृत्यु
वीरगंज संजाल
१६ बैशाख २०७७, मंगलवार ०९:२१
२४६७
काठमाडौं | कोभिड-१९ को संक्रमणबाट विश्वभर ३० लाख भन्दा बढी मानिस संक्रमित भइसकेका छन्। कोरोना भाइसको तथ्यांक संकलन गरिरहेको जोन्स हप्किन्स विश्वविद्यालयको पछिल्लो तथ्यांक अनुसार हालसम्म ३० लाख ४० हजार सात सय ९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।
तथ्यांक अनुसार हालसम्म विश्वका १ सय ८५ देशमा कोरोना भाइरसको संक्रमण देखिएको छ। जोन्स हप्किन्स विश्वविद्यालयले विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ), युरोपेली रोग नियन्त्रण तथा रोकथाम केन्द्र र विश्वभरका सरकारी स्वास्थ्य संस्था र स्थानीय सञ्चार माध्यमहरुबाट तथ्यांक संकलन गरिरहेको छ।
तथ्यांक अनुसार हालसम्म दुई लाख ११ हजार एक सय ६७ जनाको मृत्यु भइसकेको छ। तथ्यांकअनुसार हालसम्म अमेरिकामा मात्र नौ लाख ८८ हजार एक सय ८९ जनामा कोभिड-१९ को संक्रमण पुष्टि भएको र ५६ हजार दुई सय ५५ जनाको मृत्यु भइसकेको छ। अमेरिकाको न्यूयोर्क शहरमा मात्र १७ हजार पाँच सय १५ जनाको मृत्यु भएको छ।
त्यस्तै, दोस्रो स्थानमा रहेको स्पेनमा दुई लाख २९ हजार चार सय २२ जना मानिस संक्रमित भइसकेका छन्। यहाँ २३ हजार पाँच सय २१ जनाको मृत्यु भइसकेको छ।
संक्रमणको तेस्रो स्थानमा रहेको इटालीमा एक लाख ९९ हजार चार सय २२ जना संक्रमित हुँदा २६ हजार नौ सय ७७ जनाको मृत्यु भइसकेको छ।
फ्रान्समा एक लाख ६५ हजार नौ सय ४३ जना संक्रमित भएका छन्। यहाँ २३ हजार तीन सय २७ जनाको मृत्यु भएको छ। त्यस्तै जर्मनीमा एक लाख ५८ हजार सात सय ५८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। यहाँ ६ हजार एक सय २६ जनाको मृत्यु भइसकेको छ।
बेलायतमा एक लाख ५८ हजार तीन सय ४८ जना संक्रमित हुँदा २१ हजार एक सय ५७ जनाको मृत्यु भइसकेको छ। एसियाली मुलुकहरु मध्ये सबै भन्दा बढी संक्रमित टर्कीमा छन्। त्यहाँ एक लाख १२ हजार दुई सय ६१ जना संक्रमित हुँदा मृतकको संख्या दुई हजार नौ सय पुगेको छ। टर्की मध्य पूर्वी देश हो र यसको केही हिस्सा पश्चिम युरोपको पाल्कन प्रायद्वीपमा समेत पर्दछ।
त्यस्तै अर्को एसियाली मुलुक एसियाली मुलुक इरानमा संक्रमितको संख्या ९१ हजार चार सय ७२ जना संक्रमित भएका छन्। यहाँ मृतकको संख्या पाँच हजार आठ सय ६ छ।
त्यस्तै रुसमा ८७ हजार एक सय ४७ जना संक्रमित भएका छन्। यहाँ मृतकको संख्या सात सय ९४ जना रहेका छन्।
कोरोना भाइरसको इपिसेन्टर चीनमा संक्रमितको संख्या ८३ हजार नौ सय १८ छ। यहाँ मृतकको संख्या चार हजार ६ सय ३७ छ।
अर्को छिमेकी भारतमा संक्रमितको संख्या २९ हजार चार सय ५१ पुग्दा नौ सय ३९ जनाको मृत्यु भइसकेको तथ्यांकमा उल्लेख छ।