काठमाडौं | नेपाल किसान संघले कोरोना भाइरसको संक्रमण रोकथामका लागि लागू गरिएको लकडाउनपछि मुलुकभरका किसानले ठूलो नोक्सानी व्योहोर्नुु परेको उल्लेख गर्दै उनीहरुलाई राहत कार्यक्रम घोषणा गर्न सरकारसँग आग्रह गरेको छ ।
संघका सभापति भानुभक्त सिग्देलले आज एक वक्तव्यमार्फत लकडाउनका कारण दिनभरी मजदुरी गरी जीवनयापन गर्ने कृषि श्रमिकलाई समस्या परेको, उत्पादनमा संलग्न किसानले आफ्नो उत्पादन बजारमा पुर्याउन नपाएर नष्ट गर्नु परेको र कृषिजन्य कच्चा पदार्थमा आधारित कृषि उद्यमी संकटमा परेको उल्लेख गरे ।
सरकारसँग श्रमिक किसानलाई गाँसबासको व्यवस्थापनसाथै सबै खाले किसानको नोक्सानको क्षतिपूर्ति दिने र आगामी दिनमा यस्तो क्षति हुन नदिन सुरक्षित उत्पादन र बजार व्यवस्थापनको ग्यारेण्टी गर्ने प्रकारको राहतका कार्यक्रम घोषणा गर्न संघले अपिल गरेको छ ।
उत्पादनमा लागेका किसान मल बीउ जस्ता अति आवश्यक सामग्रीको अभावमा नयाँ उत्पादनमा लाग्न नपाएको बताउँदै अध्यक्ष सिग्देलले यसले मुलुकको समग्र अर्थव्यवस्थामा दुरगामी असर पर्ने उल्लेख गरे ।
संघले कोरोना रोकथामका लागि लकडाउन लागु गरेर मात्र जनताप्रतिको सबै कर्तव्य पूरा नहुने भन्दै सरकारलाई किसानका समस्याप्रति गम्भीर हुन आग्रह गरेको छ । रासस