नयाँ २ संक्रमित मध्ये एक वीरगञ्ज महानगरपालिकामा कार्यरत सरसफाई कर्मचारीमा
वीरगंज संजाल
१४ बैशाख २०७७, आईतवार १४:४७
५३९५
वीरगञ्ज | वीरगञ्ज महानगरपालिकामा थप २ जनामा कोरोनाभाइरस अर्थात कोभिड–१९ पुष्टि भएको छ । वीरगञ्ज महानगरपालिका वडा नम्बर २ र ३ का दुई बृद्ध पुरुषमा पीसीआर परीक्षणका क्रममा पोजिटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
संक्रमित मध्येका एक वीरगञ्ज महानगरपालिकामा वडा नं. ३ घर भएका ५५ वर्षीय बृद्ध वीरगञ्ज महानगरपालिका कार्यालयमा कार्यरत सरसफाई कर्मचारी (नाईके) थिए । महानगरपालिका कार्यालयमै कार्यरत अर्का एक कर्मचारी अनुसार संक्रमित पुरुष आज बिहान (आइतबार) सम्म सरसफाई कार्यमा खटेका थिए ।
वीरगञ्ज महानगरपालिका वडा नं. ३ का वडा अध्यक्ष बैजु स्वर्णकार अनुसार उक्त सरसफाई कर्मचारीको स्वाब शुक्रबार परिक्षणका लागि काठमाडौँ पठाईएको थियो । स्वाब परिक्षणको नतिजा पोजेटिभ आए पछि उनलाई प्रहरीले नियन्त्रणमा लिएर वीरगञ्जको नारायणी अस्पतालको आइसोलेसनमा राखिएको छ ।
वडा अध्यक्ष स्वर्णकार आफु पनि अब सेल्फ क्वारेन्टाइनमा बसेको जानकारी दिए । ‘उनि हाम्रै वडामा कार्यरत नाईके थिए, वडा अध्यक्ष स्वर्णकारले भने, ‘आज बिहान सम्म उनि सरसफाई काममा खटेका थिए, पछि उनको रिपोर्ट पोजेटिभ आएपछि उनलाई प्रहरीले नियन्त्रणमा लिएर नारायणी अस्पताल लागेको छ ।’
महानगरपालिकाका कर्मचारी अनुसार उनि छपकैया स्थित मस्जिदमा नमाज पढ्न जाने गर्थे । केहि दिन अगाडी छपकैयाको भेटिएका ३ कोरोना संक्रमित मुस्लिम धर्मगुरु अर्थात जमातीहरु लुकेर बसेको मस्जिदमा समेत उनि गएको स्थानीयले बताएका छन् ।
पर्सा जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारि ललित बस्नेतका अनुसार कोरोना संक्रमित भारतीय जमातीसँग सम्पर्कमा रहेका वीरगञ्ज मअहानगरो वडा नम्बर १,२ र ३ का १४६ जना र पर्सा जिल्लाका विभिन्न क्वारेन्टाइनमा राखिएका ४१ गरी १८७ जनाको स्वाब संकलन परीक्षणका लागि काठमाडौं पठाइएको थियो । सो मध्ये आइतबार बिहानसम्म ८२ जनाको रिपोर्ट आएको छ । जसमा दुई जनाका कोरोना भाइरस संक्रमण रहेको पुष्टि भएको हो ।